यो साता सुनको भाउ बढ्यो, चाँदीमा भने गिरावट


यो साता सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । अमेरिकी कमर्श डिपाटमेण्टले हालै सार्वजनिक गरेको मुल्य बृद्धि दर सम्वन्धी प्रतिवेदनका कारण सुनको मूल्य वृद्धि भएको बिश्लेषकहरुले बताएका छन्।

यो साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य कारोबारको अन्तिम दिन अर्थात् शुक्रबार १ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

छापावाला सुनको मूल्य शनिबार पनि शुक्रबार कै भाउमा कारोबार भइरहेको छ। यो साता सुनको मूल्य ५०० रुपैयाँले वृद्धि भएको हो ।

सोमबार २०० रुपैयाँले घटेर १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको तेस्रो करोबार दिन मंगलबार पनि सोही भाउमा कारोबार भएको थियो ।

यस्तै, बुधबार १०० रुपैयाँ घटेर १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । छापावाला सुनको बिहीबारको तुलनामा शुक्रबार पुनः ६०० रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँ पुगेको हो ।

शनिबार तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ फागुन २०८०, शनिबार  ११ : ३३ बजे