मिर्मिरे र नेरुडे लघुवित्तको एकीकृत कारोबार फागुन ३० देखि

0
Shares

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त र मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्तबीच मर्जर सम्पन्न भई फागुन ३० गते बुधबारदेखि एकीकृत कारोबार सुरू हुने भएको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेका दुई कम्पनीहरू एक आपसमा मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो ।

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबारको मिति तय भएको हो । यस्तै, डाटा माइग्रेसन प्रक्रियाका लागि दुवै कम्पनीका सबै सेवाहरू फागुन २९ गते बन्द हुनेछ ।

गत वैशाख १० गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले १ः१ अनुपातको समान सेयर स्वाप रेसियो मर्जर हुने प्रस्ताव पारित भएको थियो । धितोपत्र बोर्डले कात्तिक २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । दुई संस्थाबीच २०७९ पुस ११ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नम्बर ८ काभ्रेपलाञ्चोकमा रहने भएको छ । दुवै संस्थाका मर्जर र एक्विजिसन समिति संयोजकमा मणि कुमार अज्र्याल र सन्तोष फुयाँल थिए ।

सञ्चालक समिति अध्यक्षमा हालको मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहोरा र प्रमुख कार्यकारी अधिकृतमा नेरुडेका भोजराज बस्यालले निरन्तरता पाएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशी स्वेच्छिक अवकासमा जानेछन् ।
नियमनकारी निकायको मार्गदर्शनलाई पछ्याउदै एक सबल लघुवित्तको स्थापनाका लागि मर्जर र एक्विजिसन कार्यमा गएको लघुवित्तहरु बताउँछन् । वित्तीय संस्थाहरुको मर्जर कार्यले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने विश्वास लिएका छन् ।

एकीकृत कारोबार पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड, शाखा संजाल संख्या २५०, सेवाग्राही संख्या ३ लाख निक्षेप ६ अर्ब २५ करोड कर्जा लगानी १९ अर्ब कर्मचारी संख्या १हजार ३०० पुग्नेछ । मिर्मिरे लघुवित्तसंग यसअघि स्वेडा लघुवित्त, नागबेली लघुवित्त र बुद्दज्योती लघुवित्त बिलय भैसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।