साताको सेयर बजार : तीव्र उतारचढावबीच ७० अङ्कको वृद्धि


सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७० अङ्कले बढेको छ ।
 
साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ ।
 
सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अङ्कले बढेको थियो ।
 
यो साता पुँजी बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँ बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ । आइतबार दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने ३७ करोड ३७ लाख ५१ हजार रुपैयाँ बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता शेयर मात्रै किनबेच भयो ।
 
मङ्गलबार चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ रुपैयाँ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता शेयर कारोबार भएको छ । त्यसैगरी, बुधबार तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार रुपैयाँ बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार रुपैयाँ बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।
 
बिहीबारको कारोबारपछि  कुल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ रुपैयाँ  बराबर कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।