उपनिर्वाचनः मतदाता नामावली अद्यावधिक गर्न आयोगको आग्रह

0
Shares

निर्वाचन आयोगले आगामी वैशाख १४ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्न आग्रह गरेको छ । उपनिर्वाचन अघि अन्तिम मतदाता नामावली प्रकाशन गर्नका लागि अध्यावधिक कार्यक्रममा सहभागी हुन आयागले भनेको हो ।

उपनिर्वाचनको घोषणापछि आयोगले अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट संकलन भएका मतदाता नामावलीको अध्यावधिक तथा दाबी विरोधको प्रक्रिया अघि बढाएको हो । जसमा आयोगले फागुन १३ गतेसम्म संकलन भएका विवरणहरूको अद्यावधिक गर्नेछ । मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन कार्यक्रम फागुन २९ गतेदेखि २०८० चैत्र ५ गतेसम्म सञ्चालन हुनेछ । मतदाता नामावली फागुन २८ गते आयोगको बेवसाइटमा प्रकाशन हुनेछ ।

उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन, एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका लागि मा गई अनलाइनमार्फत वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

आयोगका अनुसार वैशाख १४ गते हुने उपनिर्वाचनमा १८ वर्ष पुग्नेले पनि भोट हाल्न पाउने भएका छन् । आयोग प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख १४ गते १८ वर्ष पुग्नेले पनि उपनिर्वाचनमा मतदान गर्न पाउने जनाएका हुन् ।

विसं २०८१ वैशाख १४ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ । त्यसका लागि आयोगले चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । कार्यक्रमको प्रभावकारिताका लागि आयोगले गृह मन्त्रालयमार्फत् सबै प्रमुख जिल्ला अधिकारीहरूलाई प्रमुख नाम दर्ता अधिकारीसँगको समन्वयमा जिल्लाका राजनीतिक दलहरूसँग बैठक राखेर कार्यक्रम सम्बन्धी सूचना सम्प्रेषणको व्यवस्था मिलाउन समेत आयोगले निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।