राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद स्वर्णीम वाग्लेले बजेटको आकारअनुसार पूँजीगत खर्च नभएकाले आर्थिक क्रियाकलाप चलायमान हुन नसकेको बताएका छन्।
राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ मा बोल्दै उनले विदेशी क्षेत्रअन्तर्गत भारतीय मुद्रासँगको पेग दिगो नरहेको तर आर्थिक अवस्था अहिले कमजोर भएकाले ठीकै मान्नुपर्ने अवस्था रहेको बताए।
बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशानिर्देश गर्न आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ कार्यक्रम शनिबार आयोजना गरेको थियो।
कार्यक्रमको प्रमुख अतिथि एवं अर्थमन्त्री वर्षमान पुनले उद्घाटन गरेका थिए। कन्फ्रेन्सको प्यानल डिस्कसनमा आफ्नो धारणा राख्दै वाग्लले विकसित राष्ट्रहरुको आर्थिक वृद्धिदर कम हुने र नेपाल जस्तो विकासोन्मुख देशको आर्थिक वृद्धिदर बढी हुनुपर्ने भएता पनि सो अनुरुप हुन नसकेको बताए।
आर्थिक सुशासन कायम भएको खण्डमा ७–८ प्रतिशत आर्थिक वृद्धि सम्भव रहेको तर हाल कोभिड–१९ को प्रभावले वृद्धिदर कम रहेको उनले बताए।उनले देशमा नाफाजति निजीकरण, घाटाजति सार्वजनकीकरणको अवस्था भएमा आर्थिक विकासमा फड्को मार्न नसकिने बताए। कार्यक्रममा अर्थ मन्त्रालयका सचिव ९राजश्व० डा। रामप्रसाद घिमिरेले हाम्रो अर्थतन्त्रको आकारअनुसार हाम्रो आर्थिक वृद्धिदर निकै न्यून रहेको बताए। उनले वर्तमान अर्थतन्त्रका प्रमुख ३ चुनौतीका रुपमा उत्पादन वृद्धि, रोजगारीमा वृद्धि र पूँजीगत खर्चको वृद्धि रहेको बताए।
अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले हाल तरलताको अवस्था सकारात्मक रहेको, विदेशी मुद्राको सञ्चिती राम्रो अवस्थामा रहेको, ब्याजदर न्यून रहेको अवस्था हुँदाहुँदै पनि निजी क्षेत्र आशावादी हुन नसकेको, आन्तरिक मागमा कमी आएको, श्रमको अभाव भएको, उत्पादनशीलता बढ्न नसेको अवस्थाका कारण अर्थतन्त्रमा आशातित गतिशीलता आउन नसकेको बताए।
उनले अर्थतन्त्र सकारात्मक दिशामै अगाडि बढ्ने संकेत देखिएकोले आशा गर्ने ठाउँ भने रहेको बताए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणाले बैंकिङ्ग क्षेत्रमा पर्याप्त स्रोत हुँदाहुँदै पनि कर्जा लगानी हुन नसक्नुका कारण पत्ता लगाउन निजी क्षेत्र र बैंकिङ्ग क्षेत्रको ग्याप विश्लेषण गर्नुपर्ने बताए। उनले उत्पादनमूलक, पर्यटन, कृषि क्षेत्रमा लगानीको सम्भावना रहेको बताए। बैंकर परशुराम कुँवरले हामीले बैंकिङ्ग क्षेत्रको विकासमा धेरै फड्को मारेका अवस्था भए पनि प्रविधिको क्षेत्रमा अझै पनि धरै कार्य गर्न बाँकी रहेको भन्दै छिमेकी राष्ट्र चीन र भारतबाट सिक्न सकिने बताए।
फिनटेक विज्ञ सञ्जीव सुब्बाले नेपाल राष्ट्र बैंकको नियामकीय भूमिका महत्वपूर्ण रहेकोमा अर्थतन्त्रमा सूचना प्रविधिको प्रयोगबाट रुपान्तरण सम्भव रहेको बताए। बैंकर भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, कमनसेन्स विज्ञ सुजीव शाक्यलगायतले विषयगत रुपमा आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा सहभागीहरुसँग अन्तरक्रियासमेत गरिएको थियो। कार्यक्रममा आ.व. २०७९\०८० मा बैंकका विभिन्न जिम्मेवारीमा रहेर सर्वोत्कृष्ट तथा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शाखा कार्यालहरुको मनोबल बढाउन र समग्रमा कामप्रति उत्प्रेरणा जगाइ थप जिम्मेवार बनाउन पुरस्कृत गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा बैंक सञ्चालन समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, कृयाशील ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, उप–प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु, उप–प्रमुखहरु, वरिष्ठ प्रबन्धकहरुलगायत २८७ शाखाका शाखा प्रबन्धकहरुलगायत करीब ४५० जनाको उपस्तिथि रहेको थियो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया