फि र कमिसन आम्दानी घटेपनि सानिमा बैंकको नाफा १७ प्रतिशतले वढ्यो


चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा बैंकको नाफमा करिब १७ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले प्रबाह गर्ने सेवा शुल्क तथा कमिसनमा आधारीत आम्दानी घटेपनि बैंकको नाफा १६ करोड ५४ लाख रुपैयाँले वढेको हो ।

बैंकले चालु आर्थिक वर्षको पुससम्ममा एक अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पुससम्ममा ९८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आवको सो अवधिमा बैंकले २ अर्ब १६ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १३.५४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकले एक अर्ब ९० करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको बैंकको प्रमुख आयको रुपमा रहेको ब्याज आम्दानी वढेको भएपनि फि तथा कमिसन आम्दानी भने घटेको छ । गत चालु आवको पुससम्ममा बैंकले ३५ करेड ८१ लाख रुपैयाँ मात्र फि तथा कमिसन मार्फत आम्दानी गरेको छ । यो आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा पनि ३ करोड रुपैयाँले थोरै हो । गत आर्थिक वर्षको ६ महिनामा बैंकले ३८ करोड ८१ लाख रुपैयाँ फि तथा कमिसन आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनासम्ममा बैंकको वितरण योग्य नाफा ९५ करोड ९ लाख रुपैयाँ रहेको छ । बैंक यो वितरण योग्य नाफा गर्दै गर्दा पनि वित्तीय स्रोतको लागतमा वृद्धि भएका कारणले चुनौतिपुर्ण रहेको जनाएको छ ।

बैंकले चालु आवको सो अवधिमा ग्राहक निक्षेपमा ११ प्रतिशतले वृद्धि भइ ९९ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको ग्राहकलाइ कर्जा भने ८.९६ प्रतिशतले वढेर ८८ अर्ब ७१ अर्ब रुपैयाँ प्रबाह गरेको छ ।

हाल चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ रहेको बैंकको सञ्चित कोषमा ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ । चालु आवको पुससम्ममा बैंकको खराब कर्जा ०.४१ प्रतिशत रहेको छ । यो खराब कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा केही वढेको देखिएको छ । गत आवको पुसम्ममा बैंकको खराब कर्जाको अंश ०.२४ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंकको प्रति सेयर आम्दानी २६.७ रुपैयाँ रहेको छ । बार्षिक रुपमा प्रति सेयर कितावी मूल्य १४४.३२ रुपैयाँ रहेको बैंकको बार्षिक मूल्य आम्दानी अनुपात १३.१५ प्रतिशत रहेको छ ।