आज घोडेजात्रा पर्व, टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाइँदै, काठमाण्डौं उपत्यकामा सार्वजनिक बिदा


काठमाण्डौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ । जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । आज शेयर बजार पनि बन्द रहनेछ।

विशेषगरी उपत्यकाका नेवार समुदायले घोडेजात्रालाई ठुलो चाडको रुपमा मनाउने गर्दछन् । जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दछ ।

टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने गर्दछ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालिन समयमा शहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ ।

तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्नसक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी शहरभर घोडा कुदाउने प्रचलन रहेको पाइन्छ । घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने \ बालबालिकामाथि खतरा नबन्ने जनविस्वास रहिआएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।