थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार, आठजनाविरुद्ध मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको साविक थिर्पु गाविसमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा र सबइन्जिनियर माधवकुमार काफ्लेविरुद्ध १३ लाख ७४ हजार ९९१ रुपैयाँबराबरको बिगो दाबी गरेको छ ।

पलाता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, पलाता–८ का तत्कालीन वडाध्यक्ष पटकबहादुर बम र वडा सचिव जानकीकुमारी शाहीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

मूलखोला थोपा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिसुरा रोकायविरुद्ध पनि समान बिगो मागदाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले मंगलबारै कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कृषि निर्देशनालय गण्डकी प्रदेशबाट प्राप्त अनुदान रकममा भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप छ ।

आयोगले निमित्त कार्यालय प्रमुख खनालविरुद्ध २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । कृषि इन्जिनियर विश्वनाथ पौडेल, कृषि विकास अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा पौडेल तिमिल्सिना, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र गल्याङ नगरपालिका–३ का श्रीप्रसाद श्रेष्ठविरुद्ध पनि २८ लाख ३७ हजार २१७ रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । आरोपितलाई कैद सजायको माग गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।