चारै कारोबार दिन घटेको यो साताको सेयर बजार कस्तो रह्यो ?

0
Shares

सेयर बजार परिसूचक मापक नेप्से यो साता २.६२ प्रतिशत अर्थात ५३.१६ अंकले घटेको छ । सूचकसँगै कारोबार रकम पनि १५.३८ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार गत बिहीबार २०२५.३० बिन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) घटेर १९७२.१४ बिन्दुमा कायम रहेको छ । साताभरमा ६४.४१ अंकको उतार चढाव भोगेको यो सातको नेप्से बढेर उच्चतम २०३१.८६ अंकसम्म पुग्ग्यो भने न्यूनतम १९६७.४५ बिन्दुसम्म झरेको थियो ।

रामनवमीको सार्वजनिक विदाका कारण यो साता चार कारोबार दिन मात्र बजार खुल्यो । चारैदिन घटेको बजारमा यो सता कुल १० अर्ब ५ करोड ७९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता ११ अर्ब ८८ करोड ६१ लाख २० हजारको सेयर खरिद बिक्री भएको थियो ।

पहिलो दिन आइतबार २.३५ अंकले घटेको बजार, सोमबार १६.८२ अंक, मंगलबार १४.८१ अंक र बिहीबार नेप्से परिसूचक १९.५६ अंकको गिरावट सहित बन्द भएको हो । यो साता पुँजी बजारमा २ करोड ५८ लाख ३४ हजार ४७७ कित्ता सेयर कारोबार भएको छ । जुन १३% कम हो । गत साता २ करोड ९६ लाख ९६ हजार ४३६ कित्ता कारोबार भएको थियो ।

कारोबारमा आएका १३ ओटै उपसमुहगत सूचक घटेको छ । यो साताको बजारमा अन्यको इन्डेक्स ३.८९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा ३.१६ प्रतिशत र जलविद्युत ३.०३ प्रतिशतले घटेको छ ।

यो साता गोर्खाज फाइनान्सको सर्वाधिक ४७ करोड १५ लाख रुपैयाँ बढीको धितोपत्र खरिद बिक्री भएको छ । यस्तै ङादी ग्रुप पावरको ३४ करोड ९० लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३३ करोड ७३ लाख, सानिमा माई हाइड्रोपावरको ३३ करोड २२ लाख, पोखरा फाइनान्सको ३१ करोड ८२ लाख, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ४२ लाख, सर्वोत्तम सिमेन्टको १९ करोड ३७ लाख, शिवम् सिमेन्ट १८ करोड ८६ लाख, नेपाल फाइनान्सको १७ करोड ७२ लाख र सिवाईसी नेपाल लघुवित्तको १७ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब २७ अर्ब ७ करोड ५८ लाख रुपैयाँमा समेटिएको छ । गत साता ३२ खर्ब १२ अर्ब ८० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा २.२९% अर्थात ८४ अर्ब ९३ करोड २२ लाख रुपैयाँले कुल बजार पुँजीकरण घटेको हो ।

यो साताको बजारमा मेन्छियम हाइड्रोपावरका सेयर लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।कम्पनीको सेयर मूल्य १०.५४ प्रतिशत बढेर ४०९ रुपैयाँ पुगेको छ । यस्तै श्रृजनशील लघुवित्तको ८.०१ प्रतिशत, ८.५% माछापुच्छ्रे डिबेञ्चर २०८७ को मूल्य ७.२० प्रतिशत, एनआईसी एशिया लघुवित्त ६.२७ प्रतिशतले बढेको छ । यो सातामा नेपाल बैंक डिबेञ्चर २०८७,दिश्यश्वरी हाइड्रोपावर, माईखोला हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक डिबेञ्चर २०८९ र अभियान लघुवित्तको ५ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ।

उता यो साताको बजारबाट गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक २१.५४ प्रतिशत र रुरु जलविद्युत परियोजनाको २०.५२ प्रतिशतले मूल्य घटेको छ । यससँगै गुराँस लघुवित्तको १८३६ र रुरु जलविद्युत परियोजनाको ४०४ रुपैयाँ ७० पैसामा झरेको छ ।

यस्तै यो साताको बजारबाट निफा्र उर्जा ऋणपत्र २०८५।८६ को १२.४९, अपर स्याङ्गे हाइड्रोपावरको १०.१० र सर्वोत्तम सिमेन्टको ९.३५ प्रतिशतले घटेको छ । यसैगरी नेपाल रि इन्स्योरेन्स कम्पनी, दोल्ती पावर, सिइडिबी हाइड्रोपावर, वीन नेपाल लघुवित्त, र सिवाईसी नेपाल लघुवित्तका मूल्य ८ प्रथितशतभन्दा बढीले ओरालो लागेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।