सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0
Shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएको आरोपमा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका उनीविरुद्ध आयोगले अमेरिकाकोे स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएर सार्वजनिक ओहोदाको पदमा बसेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विदेशी अवासीय अनुमति पत्रधारीले नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्था विपरीत पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेका थिए । यही अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।

नेपालको संविधानको धारा २९१ को उपधारा (१) मा भएको व्यवस्था, निजामती सेवा ऐन, २०४९ को दफा ६१(२)(ग) मा भएको व्यवस्था र संचार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध सार्बजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ११ को देहाय (घ) को व्यवस्था विपरित निज विकल पौडेलले सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक पदमा रहेको अख्तियारको ठहर छ ।

पौडेल २ कार्यकाल केन्द्रको कार्यकारी निर्देशक र एकपटक राष्ट्रिय सूचना प्रविधिक केन्द्रको कार्यकारी निर्देशक बनेका थिए । पछिल्लोपटक सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहेकै बेला अख्तियारले २०८० वैशाख ३ मा सेक्युरिटी प्रिन्टिङको उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा पनि मुद्दा दायर गरेको थियो । पौडेलको यो मुद्दा पनि किनारा लाग्न बाँकी छ ।

मुद्दा विचारधीन रहेकै बेला गत माघ १० गते पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन, विदेशी बैंकमा अनुमतिबिना खाता सञ्चालन गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको हुँदा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन माग दाबी गरिएको छ । साथै पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएको पदाधिकारी रहेकोले भ्रष्टाचार निवारण ऐन, बमोजिम थप सजाय हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।