सरकारले कृषि बीमाशुल्कको २ अर्ब अनुदान अझै दिएन, यथाशक्य रकम उपलब्ध गराउन माग

0
Shares

सरकारले कृषि बीमाशुल्कमा तोकेको २ अर्ब अनुदान रकम बीमा कम्पनीहरुले पाउन सकेका छैनन् । बीमक कम्पनीहरुले लामो समयदेखि कृषि बीमा रोकेपनि सरकारले भने हालसम्म पनि २ अर्ब बराबरको रकम उपलब्ध नगराएको हो ।

निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको २०८१ बैशाख १० गते सोमबार बसेको पूर्ण बैठकले नेपाल सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम यथाशक्य उपलब्ध गराउन अनुरोध गरेको हो । सरकारले तोकेको अनुदान सामान्यतया १ वर्ष पश्चात मात्र प्राप्त हुने गरेको छ ।

सरकारले विसं २०६९ देखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको छ । सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हाल सम्म करिब २ अर्ब बाँकी रहेको छ । विगत १० वर्ष देखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षती हुँदा क्षतीको दाबी भुक्तानी गरेपनि समयमा नै भुक्तानी नपाएको बीमक संघको ठहर छ ।

भुक्तानी लिन बाँकी रकम उपलब्ध गराउन नेपाल सरकार कृषि तथा पशुपंछि मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गरेपनि हालसम्म भुक्तानी प्राप्त नभएको बीमक संघले जनाएको छ। लामो सयम भुक्तानी नपाउँदा बीमा कम्पनीहरु अत्यधिक जोखिममा पुगेको संघको ठहर छ । कृषि बीमाको एकातर्फ अनुदान प्राप्त नहुने र अर्को तर्फ दाबीको भूक्तानी तत्काल गर्नुपर्ने परिस्थितीका कारण बीमकहरुको नगद प्रवाहमा समस्या भएको संघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।