नेपालले मानव जीवनयापनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : उपप्रधानमन्त्री यादव


उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले नेपालले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदरको न्यूनीकरण, औसत आयुमा वृद्धि गर्न सफलता हासिल गरेको बताएका छन् ।

मन्त्री यादवले सोमबार न्यूयोर्कमा आयोजित जनसङ्ख्या र विकासको ५७ औँ सत्रलाई सम्बोधन गर्दै उक्त धारण राखेका हुन् । मन्त्री यादवले भने, “हामीहरुले हरेक नागरिकलाई सम्मानपूर्वक जीवनयापन गर्न र उनीहरुको क्षमतालाई आत्मसात गर्न पाउने अवसर दिनुपर्छ ।”

मन्त्री यादवले जनसङ्ख्या र विकासको तीन दशक अगाडि कायरोमा आयोजना गरिएको र एक सय ७९ देशले स्वीकृत गरेका राष्ट्रसङ्घको जनसङ्ख्या तथा विकास निगमको कार्यक्रम लागू गर्न सदैव प्राथमिकता दिएको बताएका छन् । मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि भएका प्रयासमा अनेकन व्यवधान उत्पन्न भएकोमा चिन्ता व्यक्त गरे ।

मन्त्री यादवले भने,“नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानव अधिकार जस्ता मौलिक अधिकारलाई अङ्गीकार गरेको छ र नागरिकको जीवन स्तर उकास्नका लागि अनेकन नीतिगत व्यवस्थ्या, योजना तथा कार्यक्रम लागू गर्दै आएको छ ।” नेपालमा युवा र योग्य जनशक्तिको आधारमा बलियो स्थानमा रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिमा भने अझै ठूलो मात्राको लगानीको खाँचो रहेको बताए ।

मन्त्री यादवले नेपालले नयाँ जनसङ्ख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने बताउँदै नेपालले निःशुल्क, पहुँचसहितको सुरक्षित गर्भपतनलाई मानव अधिकार कै रुपमा अङ्गीकार गरेको उल्लेख गरे । मन्त्री यादवले जलवायु परिवर्तनले निम्त्याएको विपत्तिका कारण मानव जीवनमाथि सङ्कट आएकोमा चिन्ता व्यक्त गरे ।

मन्त्री यादव राष्ट्रसङ्घीय फोरममा सहभागी हुन न्यूयोर्क गएका छन् । मन्त्रीसँगै उक्त सम्मेलनमा राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादर थापा, मन्त्री यादवका भ्रमणदलका सदस्यलगायत सहभागी छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।