सोपान मल्टिपलले प्रिमियममा आईपीओ ल्याउने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक चयन

0
Shares

सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीमा ल्याउने भएको छ । सेयर जारी गर्न कम्पनीले बैशाख १८ गते मंगलबार एनएमबि क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा सोपान मल्टिपल कम्पनीका तर्फबाट अध्यक्ष डा. ई. ताराप्रसाद पोखरेल र एनएमबि क्यापिटलका तर्फबाट सीईओ दिपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०७ रुपैयाँमा आईपीओ निष्कासन गर्ने छ । हाल कम्पनीको प्रति सेयर नेटवर्थ कस्ट भ्यालुमा १०३ रुपैयाँ ५८ पैसा रहेको छ भने फेयर मार्केट भ्यालुमा ४५० रुपैयाँ माथि रहेको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब ४५ करोड ७५ लाख पुर्याउने योजना बनाएको छ। जसअन्तर्गत संस्थापकतर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता ९ १ अर्ब १६ करोड ६० लाख रुपैयाँको हिस्सा रहनेछ भने २० प्रतिशत अर्थात् २९ लाख १५ हजार कित्ता बराबरको आइपीओ जारी हुने छ ।

उपेन्द्र महतो समूहको प्रमुख लगानी रहेको सोपान मल्टिपल कम्पनी एक होल्डिङ (इन्भेस्टमेन्ट) कम्पनी हो । डा. उपेन्द्र महतो, डा. वीरेन्द्रप्रसाद महतो, इ. रामेश्वर रिजाल, डा. इ. ताराप्रसाद पोखेल, जीवनाथ लामिछाने, राजेन्द्र मल्ल, अशोककुमार खड्का, इ. वसन्तचन्द्र मरहट्टा लगायतको सबल नेतृत्व र सक्रियतामा यो कम्पनीले शिक्षा, स्वास्थ्य, जलविद्युत र रियल स्टेट, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यस कम्पनीको मातहतमा कान्तिपुर इन्जिनियरिङ कलेज, एक्मी इन्जिनियरिङ कलेज, सोपान फर्मास्युटिकल्स, मोल्निया पावर, मैलुङ खोला जलविद्युत कम्पनी, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी, सोपान प्रोपर्टिज कम्पनी रहेका छन् ।

सोपान मल्टिपलको लगानी रहेको मैलुङ खोला जलविद्युत कम्पनी र माथिल्लो मैलुङ खोलाले आइपीओ निष्कासन गरिसकेको छ भने सोपान मल्टिपलको प्रमुख परियोजनाका रुपमा विकास गरिएको देशकै नमुना अत्याधुनिक प्रविधियुक्त सोपान फर्मास्युटिकल्सले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ ।

कम्पनीले आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५ औँ वार्षिक साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।