अल्पकालीन लगानीकर्ता हाबी हुँदा बजारमा करेक्सन, लघुवित्तका सेयरमा आकर्षण

0
Shares

सेयर बजारमा छिटो नाफा सुरक्षित गर्ने ट्रेन्ड हाबी हुँदा बजार अस्थिर बनेको छ। मंगलबार नेप्से २६ अंकले बढेर करिब ५ अर्बको सेयर कारोबार भएको भएपनि नाफा सुरक्षित गर्ने क्रम बढ्दा बिहीबार बजार घटेर बन्द भएको हो ।

विकास बैंक, जलविद्युत र फाइनान्स क्षेत्रका कम्पनीमा भएको नाफा सुरक्षित गरी लगानीकर्ता बिहीबार लघुवित्तको सेयरमा प्रवेश गरेका छन् । यसरी एक क्षेत्रका कम्पनीबाट आएको नाफा सुरक्षित गरी अर्कोमा प्रवेश हुँदा बजारका सबै क्षेत्र चलाएमान हुने र बजारले गति लिन आंकलन लगानीकर्तामा छ । यद्यपी थोरै नाफा हुने वित्तीकै प्रोफिट बुकिङ्ग गर्ने ट्रेन्डले बजारलाई धेरै माथि भने नलैजाने जानकारहरु बताउँछन् ।

साताको अन्तिम दिन बिहीबार ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ४ अर्ब ८० करोडको सेयर कारोबार भएकोमा ६७ करोडले दैनिक कारोबार रकम खुम्चिएको हो । सुरुवातदेखि नै ओरालो लागेको बजार सूचक नेप्से पाँच पटक बढ्न खोजेपनि उच्च बिक्रीचापका कारण बजार निरन्तर ओरालोमै बन्द भएको हो ।

आज नेप्से सूचक ०.३६ प्रतिशत अर्थात ७. ३१ अंकले घटेर १९९८.९६ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.४१ प्रतिशत, फ्लोट इन्डेक्स ०.४५ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ प्रतिशतले घटेको छ । लघुवित्तमा आकर्षण बढ्दा बिहीबाार लघुवित्तको सूचक सर्वाधक ३.४५ प्रतिशतले बढेको छ भने ब्यापारमा पनि ०.०६ प्रतिशतको झिनो वृद्धि देखिएको छ । आजको बजारमा विकास बैंक सर्वाधिक २.०३ प्रतिशतले घटेको छ भने जलविद्युत १.११, निर्जीवन बीमा ०.९७, बैंकिङ्ग ०.८२ र अन्य ०.७८ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा २८ करोड ७७ लाख सहित आईएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । गत आवबाट चुक्ता पुँजीको कुल ३४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको यस कम्पनीको सेयर प्रतिकित्ता ३ रुपैयाँ घटेर ५७० का दरले उच्च कारोबार भएको हो ।
यस्तै पोखरा फाइनान्सको २१ करोड ७८ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८० लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ करोड १७ लाख रुपैयाँ र नेपाल फाइनान्सको १० करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेसँगै प्रतिकित्ता ८०३ रुपैयाँ, ११८६.९० रुपैयाँ र ८०३ रुपैयाँ पुगेको छ । यस्तै विजय लघुवित्त ९.७१, आरएसडिसी लघुवित्तको ८.७१, जनउत्थान ८.३७, मेरो माइक्रोफाइनान्स ८.३०, पोखरा फाइनान्स ८.१०, हिमालयन लघुवित्त ७.६७ र मिथिला लघुवित्तको ६.८१ प्रतिशतका दरले मूल्य बढेको छ ।

उता आजको बजारबाट पिपुल्स पावरका लगानीकर्ताले सर्वाधिक ८.२१ प्रतिशतका दरले गुमाएका छन् । यस्तै ग्रीन डेभलपमेन्ट बैंकको ५.१०, सिन्धु विकास बैंक ४.७४, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.१४ र हिमालयन हाइड्रोपावरको ४.०९ प्रतिशतका दरले मूल्य घटेको छ ।
आज कारोबार कित्ता र कारोबार संख्याका दुबैका आधारमा आईएमई लाइफ इन्स्योरेन्स अगाडि छ । कम्पनीको ४ लाख ९७ हजार ५७ कित्ता ३९११ पटक खरिद बिक्री भएको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ६० करोड ७१ लाख रुपैयाँ बराबरमा समेटिएको छ । अघिल्लो दिन ३१ खर्ब ८१ अर्ब २० करोड १६ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।