दक्ष कालिगढ पलायनले लोप हुँदै सीप


नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले नेपाली कालिगढ पलायन र विस्थापित हुँदै गएकाले दोस्रो पुस्तामा सीप हस्तान्तरण हुननसकेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

महासङ्घले काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा नेपाली मौलिक ‘क्राफ्टम्यान’ सीप लोप हुँदैगएकाले सीप हस्तान्तरण हुननसकेको जनाएको हो ।रोजगारीका लागि नेपाली युवा जोखिमपूर्ण कामका लागि विदेश पलायन हुँदा स्वदेशी आभूषण निर्माण क्षेत्रमा विदेशी कालिगढको बाहुल्यता बढ्दैगएको पनि महासङ्घको भनाइ छ ।

महासङ्घका अध्यक्ष किसान सुनारले आभूषण क्षेत्रले नेपाली राजस्वमा बर्सेनी १२ अर्ब रुपैयाँ भन्दा बढीको योगदान गर्दैआए पनि यस क्षेत्रलाई प्रोत्साहित गर्न कुनै क्षेत्रबाट पहल नभएको बताए । उचित मापदण्डको अभावले बहुमूल्य गहनाको उत्पादन, कारोबार, नियमन, आयात, आपूर्तिलगायतका कार्य व्यवस्थित हुननसकेकाले समस्या भइरहेका पनि उनले गुनासो गरे । अध्यक्ष सुनारले स्वदेशी रत्न पत्थर उत्खनन, प्रशोधन र निर्यातमा सरकारले निजी क्षेत्रसँग समन्वय एवं सहकार्य गर्नु आवश्यक रहेको औँल्याए ।

महासङ्घका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठले नेपाली समाजमा गरगहनाको महत्व सिङ्गारमा मात्र सीमित नभएको जिकिर गरे । नेपाली समाजमा गरगहनाको संस्कृति र पौराणीक महत्वसमेत भएको श्रेष्ठको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।