मधेश प्रदेशको मुख्य नगदेबाली उखु खेतीको प्रवद्र्धन, यसप्रति किसानहरूको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको बृहत्तर विकासका लागि दि नेपाल डिस्टिलरिज प्रा.लि.ले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष पहल सुरु गरेको छ ।
दि नेपाल डिस्टिलरिज प्रा.लि.को आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको प्राविधिक सहयोगमा धनुषामा उखु खेती प्रवद्र्धनका लागि सीमान्तकृत समुदायका कृषकहरूको सीप, क्षमता तथा आय अभिवृद्धि सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना भएको थियो ।
नेपाल डिस्टीलरिजले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत धनुषा जिल्लाको नक्टाझिजस्थित कृषि विकास निर्देशनालय र कृषि व्यवसाय प्रवद्र्धनको सहयोगमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । तालिम केन्द्रमा सिरहा, सप्तरी, महोत्तरी र धनुषा जिल्लाका अगुवा किसानहरूलाई उखु खेती प्रर्वद्धनका लागि सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
नेपाल डिस्टिलरिज प्रा.लि.का प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादन मात्र नभई यसका बहुआयामिक गुणबारे किसानहरूलाई एकै ठाउँमा राखेर बुझाइएको र खेतीको विस्तार, प्रवद्र्धन एवम् संरक्षण गर्न आफूहरुले यो कार्यक्रम गरेको जानकारी दिए । सन् १९५९ देखि नेपालमा व्यावसायिक रूपमा पेय पद्धार्थ उत्पादन गर्दै आइरहेको नेपाल डिस्टिलरिजले स्वदेशी भूमिमा उत्पादित उखुको खपत गर्दै आइरहेको उनले जनाकारी दिए । रम उत्पादनको महत्वपूर्ण कच्चा पदार्थ मोलासेस उखुबाट बन्ने भएकाले उखु किसानहरूसँग कम्पनीको सम्बन्ध रहेको कम्पनीले जनाएको छ । उखु किसानहरूको समष्टीगत स्तरोन्नतिमा सहयोग पु¥याउन सक्रियताका साथ भविष्यमा दीर्घकालिन साझेदारीपूर्ण कार्ययोजनाहरू अघि ल्याउने पनि कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले उखु किसानले वर्षौदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बिउ नपाउने लगायत भोगिरहेका समस्याको सम्बोधन गर्न तथा उखु खेतीको विकास गर्न मधेशका आठवटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठनका लागि गृहकार्य भइरहेको जानकारी दिएका थिए ।
मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानहरूको समग्र माग र आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मधेश प्रदेशका हरेक नगरपालिकामा कृषि ज्ञानकेन्द्र स्थापना गरी कृषि क्षेत्रको विकास गरिने बताए ।
कार्यक्रममा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डा. विमलकुमार निर्मलले मधेश प्रदेशको उखु खेतीको अवस्था, समस्या र सम्भावना बारे प्रस्तुतीकरण दिएका थिए । उनले नेपालमा उखु उत्पादनमा उच्च प्रतिफलको सम्भावना रहेको तथा गुँड, खुदो, चिनी आदिमात्र नभई उखु पेलेर बाँकी रहेको भागबाट स्पिरिट लगायतका पेय पद्धार्थ बनाउन सकिने प्रस्तुतीमा उल्लेख गरेका थिए । अरबौँको वैदेशिक पेयपदार्थहरू प्रतिस्थापन गर्दै व्यवसायिक उखु खेतीबाट देशको पुँजी बाहिरिनबाट बचाउन सकिने उनको भनाई थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया