नाडेप लघुवित्तको खस्कियो प्रगति, इपीएस ५० पैसा मात्रै

0
Shares

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा १८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ५२ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा ६५.३२ प्रतिशतले घटेको हो ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार चैतसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ५२ लाख ५६ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रति सेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ९१ पैसा छ ।

चैतसम्ममा लघुवित्तले ५ अर्ब १३ करोड २७ लाख २५ हजार रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यस्तै तेस्रो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी २१.५० प्रतिशत र कुल सञ्चालन आम्दानी १६.१८ प्रतिशत घटेको छ । चैतसम्म लघुवित्तको खुद ब्याज आम्दानी १७ करोड १ लाख २३ हजार र कुल सञ्चालन आम्दानी २१ करोड ४३ लाख ६२ हजार छ ।

खर्च घटेसँगै समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने २२८.१३ प्रतिशत बढेर १ करोड ७४ लाख ७३ हजार पुगेको छ । समग्र खर्च घ्दा कम्पनीको सञ्चालन नाफा बढेको भएपनि कर बढेका कारण लघुवित्तको खुद नाफा भने घट्न पुगेको हो ।

चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष तथा कोष ६.३७ प्रतिशतले घटेर ३५ करोड ९ लाख २२ हजार रुपैयाँ सञ्चित छ । नाफासँगै लघुवित्तको प्रति सेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९३ पैसा घटेर ५० पैसामा सीमित भएको छ ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात १३८० गुणा रहेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्म लघुवित्तको खराब कर्जा अनुपात ९.९८ प्रतिशत, कस्ट अफ फन्ड ९.८८ प्रतिशत, आधारदर १५.९० प्रतिशत र स्प्रेडदर ५.१२ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।