माउण्टेन इनर्जी बिरुद्धको विद्युत प्राधिकरणको रिट उच्च अदालतद्धारा खारेज


नेपाल विद्युत प्राधिकरणले माउण्टेन इनर्जीलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा हालेको रिट अदालतले खारेज गरेको छ ।

योसँगै विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन इनर्जीले जितेको छ । मध्यस्थकर्ताले माउन्टेन इनर्जीको पक्षमा गरेको निर्णय बदर गरी पाउँ भन्दै विद्युत प्राधिकरणले २०८० मङ्सिर २० गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । आइतबार उच्च अदालतका न्यायधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलाशले विद्युत प्राधिकरणको दाबी नपुग्ने भन्दै प्राधिकरणको रिट खारेज गरेको हो ।

अदालतको यो निर्णयसँगै कम्पनीले नेपाल विद्युत प्राधिकरणबाट करिब आयोजनाको सीओडी भएदेखि मध्येस्थता परिशदमा मुद्दा पेश हुँदा सम्मको २६ करोड ४१ लाख र सो पश्चात हाल सम्म कट्टा गर्दै आएको रकम र त्यसमा लाग्ने ब्याज रकम समेत पाउने बाटो खुलेको कम्पनीले जनाएको छ ।

के थियो विवाद ?

प्राधिकरण र कम्पनीबीच पहिलो विवाद विद्युत खरिद बिक्री सम्झौता (पिपिए) मा रहेको विद्युत खरिद बिक्री दरको विषयमा थियो ।

कम्पनी र प्राधिकरणबीच २०६७ माघ २० गते पिपिए भएको थियो, जुन २०७३ वैशाख १५ गते संशोधन भएको थियो । पिपिए अनुसार कम्पनीले २०७६ भदौ १५ गतेबाट मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिसक्नु पर्ने थियो । तर प्राधिकरणले समय मै प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न नसकेकोले तोकिएको समयमा विद्युत उत्पादन हुन सकेन । त्यसपछि व्यवसायिक उत्पादन सुरु गरेको मिति २०७८ असार ३ गते कायम गरिएको थियो । कम्पनीले हाल चौथो वर्षको विद्युत खरिद बिक्री दर अनुसारको रकम विद्युत प्राधिकरणबाट माग गरिरहेको थियो । तर प्राधिकरणले भने पहिलो वर्षको पिपिए दरले मात्र पैसा भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ ।

साथै प्राधिकरण र कम्पनीबीच भएको दोस्रो विवाद विद्युत खरिद बिक्री सम्झौता को धारा ३८।१८ अनुसार नेपाल विद्युत प्राधिकरणद्वारा संचालित तातो पानी साना जलविद्युत आयोजना ९२ मे।वा० मा माउण्टेन इनर्जीका कारण विद्युत उत्पादनमा भएको ह्रास वरावरको रकम मात्र कट्टा गर्नु पर्नेमा जडित क्षमता वरावरकै रकम काट्टा गर्दै आएको कम्पनीको दाबी छ ।

चौथो वर्षको पिपिए दर अनुसार पैसा पाउनु पर्ने तथा तातो पानी साना जलविद्युत केन्द्रको वास्तविक ह्रास अनुसार कट्टा गर्नु पर्ने भन्दै कम्पनीले मध्यस्थकर्ता समक्ष मुद्दा हालेको थियो । मध्यस्थकर्ताले सर्वसम्मत रुपमा कम्पनी कै पक्षमा फैसला गरेको थियो । सो विरुद्द प्राधिकरणले मध्यस्थकर्ताको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट हालेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।