नेप्सेद्धारा सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार स्थगन, कारवाहीका लागि बोर्डमा पत्राचार

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्थगन गरेको छ । कम्पनीले हिजो सोमबार नियामक नेपाल बीमा प्राधिकरणलाई जानकारी नगराई चालु आर्थिक वर्ष २०८०/८१ को लागि अन्तरिम लाभांश वितरणको प्रस्ताव सार्वजनिक गरेपछि नेप्सेले कम्पनीको धितोपत्रको कारोबार मंगलबारका लागि स्थगन गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको धितोपत्र कारोबार स्थगन गर्दै थप कारवाहीका लागि  पुँजी बजारको नियामक निकायलाई पत्राचार गरिएको छ । अब बोर्डबाट आउने जवाफ अनुसार कम्पनी उपर कारवाहीको प्रकृया अगाडि बढाउने नेप्सेले जानकारी दिएको छ ।

हिजो नै बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्थगन गर्ने निर्णय गरिसकेको छ । बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्राधिकरणलाई जानकारी नगराई कम्पनीले लाभांश प्रस्ताव गर्नुपर्ने सम्बन्धमा कम्पनीलाई स्पष्टिकरण पेश गर्न लगाएर हिजो नै लाभांश रद्द गर्न निर्देशन दिएको बताए । प्राधिकरणको निर्देशनपछि कम्पनीले मंगलबार लाभांश रद्दको सूचना नेप्से मार्फत जारी गरेको छ ।

कम्पनीले लाभांश घोषणा गरी उच्च कारोबार भएको र लाभांश रद्दको निर्णयपछि सेयर लगानीकर्ताले सोमबार भएको सिटिजन लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार रद्द हुनुपर्ने माग राखेका छन् । यस्तै उनीहरुले सोमबार भएको सेयर कारोबार स्थगन गरी यसको क्षतीका सम्बन्धमा पनि छानबिन हुनुपर्ने र सम्बन्धित कम्पनीलाई कार्वाही गर्नुपर्नेसम्मका माग गरेका छन् ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यका अनुसार कम्पनीले सोमबार सार्वजनिक गरेको लाभांश प्रस्तावको निर्णयका सम्बन्धमा बोर्डले छानबिन सुरु गरेको छ । के कति कारणले यस्तो निर्णय भएको हो, त्यसको असर के हो भन्ने विषयमा अनुसन्धानपछि मात्र निर्णयक विषय आउने उनले बताए ।

सिटिजन लाइफ इन्स्योरेन्स आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले प्रिमियममा सेयर निष्काशन गर्दा सञ्चित भएको प्रिमियमबाट २६.९८ प्रतिशत बोनस र १।४२ प्रतिशत नगद गरी कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्राधिकरणले तोकेको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कायम गर्ने चटारोमा रहेको कम्पनीले अन्तरिम लाभांशका रुपमा बोनस र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।यो निर्णय सोमबार बिहान नेप्सेबाट सार्वजनिक भएसँगै कम्पनीको ६ लाख ६६ हजार ४८१ कित्ता सेयरहरु ३१ करोड ९८ लाख ३० हजार ९४२ रुपैयाँमा किनबेच भएका थिए । लाभांश प्रस्तावको सामाचारसँगै आइतबार प्रतिकित्ता ४५१ रुपैयाँमा अन्तिम पटक किनबेच भएको कम्पनीको सेयर सोमबार ४९६ रुपैयाँसम्ममा किनबेच भएको थियो । अन्तिममा लाभांश स्थगन गर्ने समाचारपछि कम्पनीको सेयर मूल्य ४६३ रुपैयाँ १० पैसामा बन्द भएको थियो ।

मंगलबार नेप्सेले कारोबार स्थगत गर्नुअघि सिटिजन लाइफको ४६३.१० रुपैयाँमा २ ओटा कारोबार मार्फत २०० कित्ता धितोपत्र खरिद बिक्री भएको छ । अब धितोपत्र बोर्डले दिने निर्देशन अनुसार सिटिजन लाइफ इन्स्योरेन्सको कारोबार र कम्पनीलाई गर्ने कारवार्ही अगाडि बढ्ने छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ग) मा भएको व्यवस्था बमोजिम नेप्सेलाई गलत सूचना दिएमा वा पटक पटक सूचना परिवर्तन गरेमा नेप्सेले सूचीकृत संगठित संस्थाको सूचीकरण स्थगन गर्न सक्ने व्यवस्था रहेको छ । सोही अनुसार कम्पनीले पटक पटक सूचना परिवर्तन गरेकोले विनियमावलीको विनियममा भएको व्यवस्था अनुरुप बैशाख २५ को निर्णयानुसार लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नको लागि त्यस कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।