लक्ष्मी लघुवित्तको नाफामा इम्पेरमेन्ट चार्ज घटेपछि आकर्षक सुधार, यस्तो छ प्रगति

0
Shares

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ९ करोड १७ लाख ८६ हजार रुपैयाँ ऋणात्मक थियो ।

खराब कर्जामा सुधार भई इम्पेरमेन्ट चार्ज घटेपछि लघुवित्तको खुद नाफा धनात्मक भएको हो । अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको तेस्रो त्रैमाससम्म १५ करोड ९ लाख बढी सम्भावित कर्जा नोक्सानी व्यवस्था गरेको लघुवित्तले निष्कृय कर्जा घटाएपछि अहिले १ करोड ५८ लाख छुट्टाएको छ । गत वर्षको तेस्रो त्रैमासमा ९.४७ प्रतिशत रहेको खराब कर्जा कम्पनीले घटाएर ७.७६ प्रतिशतमा सुधारेको छ ।

चैत मसान्तसम्ममा कम्पनीको वितरणयोग्य नाफा १ करोड ८९ लाख १९ हजार रुपैयाँ छ भने वितरणयोग्य प्रति सेयर आम्दानी ५ रुपैयाँ ७१ पैसा रहेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा लघुवित्तले ६ अर्ब ४ करोड ४४ लाख निक्षेप तथा सापटीबाट ६ अर्ब ५५ करोड १३ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । यस वर्ष कम्पनीले २ अर्ब २७ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।

यस्तै समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घटेको छ । खुद ब्याज आम्दानी १.९७ प्रतिशतले घटेर २७ करोड ७९ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । यद्यपी लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ७५.३१ प्रतिशत बढेर ७ करोड ३३ लाख ६० हजार पुगेको छ ।
कम्पनीको सञ्चालन नाफा यस वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ३४ लाख रुपैयाँ धनात्मक बनेको छ । गत आवको चैत मसान्तसम्म कम्पनीको यस्तो नाफा ९ करोड १९ लाख बढी ऋणात्मक रहेको थियो ।

चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको कम्पनीले जगेडा कोष तथा कोषमा कुल ३८ करोड ४४ लाख २५ हजार रुपैयाँ राखेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३३.७२ प्रतिशत धेरै हो ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी पनि २७ रुपैयाँ ७१ पैसा ऋणात्मकबाट नाफा बढेसँगै १३ रुपैयाँ ४१ पैसा धनात्मक बनेको छ । चैतसम्म प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ४ पैसा, कस्ट अफ फन्ड ९.२१, आधारदर १५.४१ र मूल्य आम्दानी अनुपात ६५.६० गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।