सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’


तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी आसपासका १५ स्थानमा ‘अलर्ट साइरन’ जडान सुरु गरेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको यस आयोजनाले तनहुँको भीमाददेखि चितवनको घुमाउनेसम्म जडान गर्न लागेको हो ।

करिब ३५ किलोमिटर दुरीमा अलर्ट साइरन राखेर नदी तटीय क्षेत्रका समुदायको सुरक्षाका लागि अग्रीम सूचना दिन लागेको आयोजनाले जनाएको छ ।जिल्लाको भीमादस्थित हुक्सेटार, दमौलीको तनहुँ सभाहल र आयोजना क्याम्पभित्र गरी तीन स्थानमा जडान गरिसकिएको तनहुँ जलविद्युत् आयोजना वातावरण अधिकृत विशाल भट्टराईले जानकारी दिए ।

“अब छिट्टै इलाका प्रहरी कार्यालय बन्दीपुर साराडघाटमा राखिनेछ”, उनले भने, “बर्खा अघि सबै स्थानमा अलर्ट साइरन राखि सक्ने योजना अनुरुप काम थालिएको छ ।”

उनका अनुसार अलर्ट साइरन वायरलेस र सोलारबाट चल्ने छन् । प्याकेज–१ अन्र्तगत करिब ४० मिटर अस्थायी बाँध निर्माण सम्पन्न गरिसकिएको छ । बर्खा भएकाले बीस वर्षमा आउनसक्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै उक्त बाँध निर्माण गरिएको हो ।

आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले बाढी पहिराको समयमा अग्रीम सूचना दिनका लागि अलर्ट साइरन राखिएको बताए। उक्त आयोजनामा सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन, नेपाल जेभीले गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।