व्यावसायिक बाख्रापालन आम्दानीको स्रोत बन्दै


किसानका लागि बाख्रापालन व्यवसाय आम्दानीको स्रोत बनेको छ । यहाँका किसानका लागि व्यावसायिक बाख्रापालन आम्दानी मुख्य स्रोत बन्न थालेको हो । जिल्लाको चुरे गाउँपालिका–१ मेलवासका अमरबहादुर विकले विगत चार वर्षदेखि व्यावसायिक बाख्रापलान गर्दै आएको बताए ।

उनले बाख्रापालन व्यवसायबाट राम्रै आम्दानी हुने गरेको बताए । उनले खसीबोका बिक्रीबाट वार्षिक चार लाखसम्म आम्दानी गर्ने गरेको सुनाए । न्यू शान्ति कृषि तथा पशुपंक्षी उत्पादन फार्म दर्ता गरेर व्यावसायिक बाख्रापालनमा लागेका विकले अहिले फार्ममा ७० वटा बाख्रा रहेको बताए ।

“अहिले १५ वटा खसी, १० वटा बोका छन्, बाख्रापालनमा विस्तारै आम्दानी पनि बढ्दै जान्छ, यसमा आम्दानी बढ्न समय लाग्छ”, उनले भने । सबै स्थानीय जातकै बाख्रा रहेको तथा खसीबोका, पाठापाठी, माउ बाख्रा राख्नका लागि अलग–अलग खोर बनाएको उनको भनाइ छ ।

“मेरो व्यवस्थित तरिकाले बाख्रापालन गर्ने योजना छ । मेहनत गर्न सके राम्रै आम्दानी हुन्छ । १२ जनाको परिवार छ । सबै खर्च यसैबाट चलाउँछु ।” “आफ्नै जग्गामा डाले घाँस पनि छँदैछ, चरिचरणका लागि पनि समस्या हुँदैन्”, उनले भने । खसी जिउँदो प्रतिकिलो रु पाँच सय २० र बोका जिउँदो प्रतिकिलो रु पाँच सयमा बिक्री हुने गरेको उनको भनाइ छ ।

कैलालीको गोदावरी नगरपालिका–४ मुरिभावरका प्रेम पौडेलले बिगत लामो समयदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । बाख्रापालनबाट आम्दानी पनि राम्रै हुने गरेको उनले बताए । “मैलै बाख्रापालन त पहिले पनि गर्थे । व्यावसायिक रुपमा पालन गरेको १८ वर्ष भयो”, उनले भने, “खसीबोका बिक्री गरेर वार्षिक तीन लाखभन्दा बढी आम्दानी हुन्छ । घरखर्च छोराछोरीको पढाइलेखाइ, औषधि उपचार खर्च राम्रै चल्छ ।”

उनले नौ जनाको परिवारको खर्च यसैबाट धानेको बताए। उनले हाल परम्परागत शैलीमै स्थानीय जातका बाख्रापालन गरिरहेका छन् । “अहिले मसँग ६० वटा बाख्रा छन् । त्यसमा ११ वटा खसी, दुई वटा ब्याडका बोका, पाँच वटा साना बोका छन्”, उनले भने, “बेच्न बाहिर जानु पर्दैन, घरमै आएर व्यापारीले किनेर लैजान्छन् ।”

बाख्रापालनबाट स्वरोजगार बनिएको र यसबाट आम्दानी लिन केही समय कुर्नु पर्ने उनको भनाइ छ । भारतबाट आउने खसीले गर्दा यहाँका व्यवसायीलाई केही अप्ठ्यारो हुने गरेको उनको भनाइ छ ।

चुरे गाउँपालिका–४ तुडेपानीका ताराबहादुर विकले पनि व्यावसायिक बाख्रापालन गरेको लामो समय भएको बताए । उनले भने, “व्यावसायिक बाख्रापालन गरेको त धेरै भयो । मैले धेरै त पाल्न सकेको छैन । अहिले ३५ वटा बाख्रा पालेको छु । खसीबोका बिक्रीबाट वर्षमा रु एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी हुन्छ ।”

“छोराछोरीको पढाइ लेखाइदेखि सानो तिनो घर खर्च चलेकै हुन्छ । बेरोजगार पनि भइदैन”, उनले भने, “आम्दानी पनि भइराख्छ । गाह्रो अप्ठ्यारोमा सहज भएको छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।