सुरक्षण मुद्रण केन्द्रमा झण्डै ४१ करोड भ्रष्टाचार, ६ जनाविरुद्ध मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जना वरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पौडेल सहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेन विरुद्ध पनि मुद्दा चलाएको हो ।

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको अख्तियारको ठम्याई छ ।

उनीहरुलाई बिगो ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ कायम गरी कैद र बिगो बमोजिम जरिबाना मागदाबी लिई मुद्दा दायर गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

केही साताअघि मात्रै अमेरिकाको स्थायी आवास अनुमति पत्र लिएर त्यसको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध दोस्रो मुद्दा दायर भएको थियो ।

गत वर्ष सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी मुद्दा दायर भएको थियो । त्यो मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ।

आजै विशेष अदालतले अख्तियारको हिरासतमा रहेका पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।