धितोपत्र बोर्ड र बीमा प्राधिकरणको संस्स्थागत क्षमता सुधार गरिने

0
Shares

सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको संस्स्थागत क्षमता सुधार गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्मा आज पेस गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमा धितोपत्र बोर्ड नेपाल र नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गर्दै नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल र प्रभावकारी बनाइने बताएका हुन् ।

उनले भने, ‘धितोपत्र बोर्ड नेपाल र नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिने छ । पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने छ ।’

यस्तै बजेटमा उनले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको बताए ।यद्यपि पुँजीको आकार भने तोकिएको छैन । यस्तै वस्तु विनिमय बजार सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने पनि उनले बताए ।

पुँजी बजाको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको संरचनागत सुधार गरिने बजेटमा उल्लेख छ । देशमा अर्को स्टक एक्स्चेन्जको आवश्यकता रहेको भन्दै इजाजत दिने प्रकृयामा अगाडि बढाइसकेको भएपनि सरकारले भने बजेट मार्फत नेप्सेको पुनर्संरचना गर्ने घोषणा गरेको हो । नेप्सेले विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने सुझाव थियो । सोही सुझावअनुसार बजेटमा सम्बोधन गरिएको हो । 

आम सर्वसाधारसँग जाेडिएका यी निकायहरूले  जनतामा महसुश गर्नेगरी कार्यसम्पादन तथा सेवा प्रवाह दिन नसकेको आरोप लाग्दै आएकाेमा अब  संस्थागत क्षमता सुधार गर्ने तथा नियमन र सुपरिवेक्षण क्षमता सबल र प्रभावकारी बनाउने भएसँगै अब ती संस्थाबाट प्रवाह हुने सेवा प्रभावकारी बन्ने आशा सेवाग्राहीमा पलाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।