लगानीकर्ताको लगानी र हित संरक्षण गर्ने बजेटको बाचाले बढेन सेयर बजार

0
Shares

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा मंगलबार पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्ने बाचा गरेपनि बजेटपछि खुलेको बजार दोहोरो अंकले ओरालो लागेको छ ।

बजेट पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर २१०० विन्दुभन्दा तल झरेको छ। मंगलबार प्रस्तुत भएको बजेटले लगानीकर्ताहरुको माग सम्बोधन नगर्दा बुधबार नेप्से परिसूचक २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा झरेको छ।

सरकारले बजेट मार्फत पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको संस्स्थागत क्षमता सुधार गर्ने घोषणा गरेको थियो । पुँजी बजाको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको संरचनागत सुधार गरिने बजेटमा उल्लेख छ ।

पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने अर्थमन्त्रीको भनाई थियो । तर, सेयर लगानीकर्ताहरुले उठाउँदै आएका मागहरु बजेटले स्पष्ट रुपमा सम्बोधन नगरेपछि लगानीकर्ताको मनोबल खस्कदा सेयर बजार ओरालो लागेको छ । सेयर बजारका लगानीकर्ताले आगामी आर्थिक वर्षको बजेटमा कर सम्बन्धि नयाँ व्यवस्था गर्ने अपेक्षा गरेका थिए। सोही अपेक्षामा बजेट अघिका दिनहरुमा बजार बढेको थियो। तर, हिजो प्रस्तुत भएको बजेटले कर सम्बन्धि कुनै हेरफेर नगरेपछि लगानीकर्ताहरु निराश भएका छन्। जसका कारण यस दिनको बजार घटेर २१०० विन्दुभन्दा तल झरेको हो।

यस्तै बजेटमा अर्थमन्त्री पुनले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको बताएका थिए ।यद्यपि पुँजीको आकार भने तोकिएको छैन । यस्तै वस्तु विनिमय बजार सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने पनि सरकारको बजेटमा उल्लेख छ ।

बुधबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ। बढेका उपसमूहमध्ये यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१३ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशत घटेको छ।

यस दिन युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ९.४१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्टको कारोबार रकम १४ करोड नाघेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।