निजी क्षेत्रमैत्री कर प्रशासन बनाउन सरकार प्रयासरत छः तिवारी

0
Shares

आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले निजी क्षेत्रमैत्री कर प्रशासन बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।

महासंघमा मंगलबार आयोजित राजश्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा महानिर्देशक तिवारीले बजेटमा भएको व्यवस्था कार्यान्वयनमा जाने बताउँँदै केहि कतै समस्या भए सुधार गरिने प्रतिबद्धता जनाएका हुन् ।

यसैगरी कार्यक्रममा राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढाले राजश्व अनुसन्धानले निजी क्षेत्रसँगको सहकार्यमा काम गर्न चाहेको उल्लेख गरे । भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौलाले भन्सार सहजीकरणका लागि थप छलफल गरि सहजीकरण गरिने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धिकरण अनुसन्धान विज्ञ हरि नेपालले सम्पत्ति अभिलेखीकरणको मोडालिटिबारे थप छलफल आवश्यक रहेको बताए । सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोगका महानिर्देशक कमल भट्टराईले यो विषय अन्तराष्ट्रिय स्तरमा पनि रहेको हुँदा लगानी निरुत्साहित नहुने गरि सुधार गर्दै जानुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको बताए । हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको उनको भनाई थियो ।

भूतप्रभावी कानुन, करका दरहरुमा हुने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजश्व पनि अपेक्षित रुपमा उठन नसकेको उनले बताए । अध्यक्ष ढकालले कृषिजन्य वस्तुको आयातमा लागेका अग्रिम आयकर, फलामे छडको अन्तशुल्कका बिषय आउन थालेको विवाद, नयाँ करका दरहरु लगायतका बिषयमा सरकार सम्मेवदनशील हुनपर्ने बताए ।

यसैगरी नेपालमा सयौ वर्षदेखि निरन्तर व्यवसाय चलिरहेको र आधुनिक कर सम्बन्धि कानुनहरु पछिमात्रै आएको हुँदा सम्पत्ति अभिलेखीकरणको अवसर सबैलार्ई प्रदान गरिनुपर्नेमा जोड दिए ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघहरुले दिएका सुझाव कार्यान्वयनका लागि सरकारसँग आग्रह गरे ।

छलफलमा आन्तरिक राजश्व विभाग, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरुको उपस्थिति थियो । यस्तै महासंघका सदस्य जिल्ला नगर, वस्तुगत, द्धिराष्ट्रिय र एसोसिएट गरि एक सय भन्दा बढि सदस्यहरुको सहभागिता रहेको थियो । यस वर्षको बजेटमा गरिएको व्यवस्थाले व्यवसायमा परेको प्रभावबारे उनीहरुले धारणा राखेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।