पूर्व सिडिओ विरुद्ध एकैदिन भष्ट्राचारका ५ मुद्धा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल विरुद्ध भष्ट्राचारको आरोपमा एकैदिन पाँच मुद्धा दायर गरेको छ ।

मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले रिजाललाई गत पुस १५ गते पक्राउ गरेको थियो। उपसचिव रिजाललाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको अभियोग लागेको छ । 

अख्तियारले तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गरिदिने भन्दै पटक पटक गरेको साढे ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न सेवाग्राहीहरुसँग ४ लाख घुस लिई भ्रष्टाचारजन्य कार्य गरेको बताएको छ। रिजाललाई बिगो ४ लाख कायम गरी मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

त्यस्तै रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न एक लाख ५० हजार घुस नदिएमा कारागारमा ५ बर्ष थुनिदिन्छु भनी धम्काई मोलाहिजा गरी डरत्रास देखाई सेवाग्राहीबाट ५० हजार घुस लिएको भन्दै अख्तियारले अर्को मुद्धा दायर गरेको छ ।

यस्तै  पटक पटक गरेर ९० हजार र ३५ हजार घुस लिएको भन्दै अख्तियारले छुट्टा छुट्टै आरोपपत्र दायर गरेको छ ।

उनै रिजालले भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने तथा अनुगमनमा नै नगई कार्यालयमै बसी आफैले अनुगमन गएको भन्दै आफूलाई गैरकानूनी लाभ र्पुयाउने बदनियतले कार्य गरी ७७ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले अर्को मुद्धा दायर गरेको हो ।

अख्तियारले ५ वटै मुद्धामा बिगो बराबरको रकम असुलउपर गरी जफत हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

भ्रष्ट्राचारको आरोपमा उपसचिव रिजाल पक्राउ