असार १६ गतेदेखि तिब्बतसँग सिमाना जोडिएको उरै नाका पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म पाँच जनाले अनुमतिपत्र लिएसकेको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए ।
नेपाल र चीन सरकारबीच चीनसँगका १४ नाका क्रमशः खोल्नसहमतिभएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले संयुक्त रूपमा नाका पुनःसञ्चालनको घोषणा गरेका थिए ।
यसैबीच, चीनको स्वशासित क्षेत्र उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो ।
सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो ।
साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको रासस प्रतिनिधिलाई बताए । टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया