बैंक वित्तीय संस्थाको एक खर्ब ५२ अर्ब राष्ट्र बैंकमा, थप ३० अर्ब तान्दै

0
Shares

वित्तीय प्रणालीमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ । विहीबार मात्रै यहि उपकरण मार्फत ४० अर्ब तानेको केन्द्रिय बैंकले शुक्रबार थप ३० अर्ब खिच्न लागेको हो ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले एक सातामा मात्रै निक्षेप संकलन उपकरण मार्फत तेस्रो पटक वित्तीय प्रणालीको तरलता खिच्न लागेको हो। बैंकले बिहीबार ४० अर्ब र गत शुक्रबार १२ अर्ब १५ करोड रुपैयाँ तानेको थियो। त्यस्तै बुधबार मात्रै बैंकहरुले २५ अर्ब ७० करोड रुपैयाँ स्थायी निक्षेप राखेका थिए ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि बजारबाट पैसा तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्था अनुसार केन्द्रीय बैंकले अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा खिच्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गरेको छ ।

बिहीबार केन्द्रीय बैंकले १४ दिन अवधिको ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन आह्वान गरेको थियो । त्यसका लागि बैक तथा वित्तीय संस्थाले ४४ अर्ब १० करोडको आवेदन दिएका थिए ।

तर, केन्द्रीय बैंकले न्यूनतम ३ र अधिकत ३.१४९१ प्रतिशतसम्म ब्याज बोल गर्ने संस्थाको निक्षेप लिएको छ । बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर ३.०५६१ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले शुक्रबारका पनि १४ दिन अवधिको ३० अर्बको निक्षेप संकलन गर्ने जनाएको छ । शुक्रबार पनि विगतका निक्षेप परिपक्क हुने भएकाले उक्त निक्षेप बजारबाट खिच्ने भएको हो।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता खिचेसँगै बिहीबारको अन्तर बैंक दर २.९ कायम भएको छ । त्यसका साथै प्रणालीको तरलताको अवस्थामा पनि सन्तुलन रहेको केन्द्रीय बैंकले जनाएको छ । बिहीबारको स्थायी निक्षेप संकलन पछि केन्द्रीय बैंकसंग बैंक तथा वित्तीय संस्थाको एक खर्ब ५२ अर्ब १५ करोड रुपैयाँ बक्यौता रहेको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अल्पकालिन ब्याजदर भने बढ्दो गतिमा देखिएको छ । बैंकहरुले ब्याजदरमा मोलमोलाई गर्न पाउने भएपछि स्थायी निक्षेप सुविधा भन्दा पनि निक्षेप संकलनमा लगानी गर्दा ब्याजदर बढेको हो ।

बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा ३ प्रतिशत ब्याजदर पाउछन् । तर, निक्षेप संकलन मार्फत पैसा राख्दा ब्याजदर बोलकबोलको आधारमा निर्धारण हुने भएकाले स्थायी निक्षेपको भन्दा पनि धेरै पाउन सम्भावना भएकाले पनि अकर्षण बढेको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता भएको खण्डमा केन्द्रीय बैंकले खिचेर अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल जान दिदैन । त्यसका लागि अहिले केन्द्रीय बैंकले निक्षेप संकलन, स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।