बैशाखसम्म १२ खर्ब विप्रेषण भित्रियो, बैशाखमा मात्रै ११६ अर्ब

0
Shares

मुलुकबाट वैदेशिक रोजगारीका लागि विदेशीने जमात बढ्दै जाँदा मासिक औसत १ खर्ब १९ अर्ब ८६ करोडका दरले विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दश महीना अवधि अर्थात बैशाख मसान्तसम्ममा विप्रेषण आप्रवाह ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.२ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा रुपैयाँ विप्रेषण नेपाल भित्रिएको थियो । सो अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । २०८० बैशाख मसान्तसम्म मुलुकले १०खर्ब ०५ अर्ब १८ करोड रुपेयाँ रेमिट्यान्स भित्र्याएको थियो ।

गत चैतसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा बैशाखमा मात्रै १ खर्ब १५ अर्ब ९८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ पुगको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या ४ लाख २१ हजार २७९ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३८ हजार ९७६ रहेको थियो । अघिल्लो आवको दश महीनाको तुलननामा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४६ हजार ३९२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ हजार ८३ ले घटेको हो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ०१ अर्ब ७२ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।