भरत ताल निर्माणमा ३० करोड भ्रष्टाचार, बागमतीका मेयरसहित ६ जनाविरुद्ध मुद्दा

0
Shares

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै थापासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । प्रवक्ता घिमिरेले मुक्तानलाई ३० करोड २९ लाख रुपियाँ बिगो कायम गर्नुपर्ने माग गरेको जानकारी दिए ।

यसैगरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध पनि ३० करोड २९ लाख रुपियाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मागदाबी गरिएको जानकारी अख्तियारका प्रवक्ता घिमिरेले दिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।