यूनाइटेड अजोड इन्स्योरेन्सद्धारा २ अर्ब ३६ करोड बीमाशुल्क संकलन, खुद नाफा साढे २७ करोड

0
Shares

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले २ अर्ब ३६ करोड ७८ लाख ७७ हजार ९३९ रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले जेठ २९ गतेसम्म २ लाख ०२ हजार ६१८ ओटा बीमलेख जारी गरेर सो बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको हो । यस्तै कम्पनीले तेस्रो त्रैमाससम्म २७ करोड ४२ लाख २४ हजार २१५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाण्डौंमा बिहीबार डाकिएको साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले कम्पनीले विगतको वर्षहरुमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाउँदै गएको बताए । .जेठ २९ गतेसम्म कम्पनीले ८ हजार १८१ ओटा दाबीको रकम १ अर्ब २६ करोड ६४ लाख ९४ हजार ५६८ रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोभिड बीमा दाबी बाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या ३ हजार ७३७ रहेको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रावलले कम्पनीको पुनर्बीमा कम्पनीहरुसँगको पुराना हिसाब किताब राफसाफ गरि व्यवसायिक सम्बन्ध सुधार गर्ने कार्यहरु भइरहेको जानकारीदिए । जसको फलःस्वरुप कम्पनीप्रति पुनर्बीमा कम्पनीहरुको विश्वासमा अभिवृद्धि भई आगामी वर्ष पुनर्बीमा कमिशनमा वृद्धि हुन सक्ने र कम्पनीलाई लाभदायक पुनर्बीमा सम्झौता गर्न सुविधा हुने उनको भनाई छ ।

सभाले नेपाल बीमा प्राधिकरणबाट संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ रहे बमोजिम सञ्चालक समितिमा सो अनुपातमा प्रतिनिधित्व गराउने सन्दर्भमा सोही अनुपातमा प्रतिनिधित्व कायम गराउने व्यवस्था गरेको छ । जसअनुसार संस्थापकको तर्फबाट ३ जना, सर्वसाधारणको तर्फबाट ३ जना र स्वतन्त्र सञ्चालक १ जनाको प्रतिनिधित्व हुने गरी कम्पनी ऐन, २०६३ को दफा ८६(२) बमोजिम एक जना महिला सञ्चालक समेत समावेश हुने गरी कम्पनीको प्रवन्धपत्र एवं नियमावली संशोधन गर्ने साधारण सभामा विशेष प्रस्ताव पारित गरेको छ।


यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभाले नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कम्पनीको चुक्ता पूँजी सम्बन्धमा २०८१ बैशाख १७ गतेको पत्रबाट २०८१ असार मसान्तभित्र बीमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ बमोजिम न्यूनतम चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । जसअनुसार निर्जीवन बीमकले २ अर्ब ५० करोड कायम गर्न हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न प्राधिकरणबाट २०८१ जेठ १६ गतेको पत्रबाट सैद्धान्तिक सहमति प्रदान भए अनुरुप विशेष प्रस्ताव पारित गर्न र हकप्रद सेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गरेको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोडको १५% अर्थात प्रत्येक १०० कित्ता सेयर बराबर १५ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरेको हो । यसैगरी हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ कायम गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।