‘वित्तीय पहुँच विस्तारले मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख’ : गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरंजीबि नेपालले वित्तीय सेवाको पहुँच विस्तार हुँदै जाँदा मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख रहेको बताएका छन् ।

सिभिल बैंकको गोरखा स्थित धार्चे शाखाको उद्घाटनका क्रममा गभर्नर नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । देशका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्र्याउन ७५३ वटै स्थानीय तहमा बैंक पुग्नेगरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको उनको भनाई थियो ।

“सिभिल बैंकले गोरखाको विकट ठाउँमा वित्तीय सेवा विस्तार गरेकोमा म एकदमै खुशी छु ।” यसरी ग्रामीण भेगमा बैंकको शाखा विस्तारले वित्तीय पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्नेछ।’ गभर्नर नेपालले भने ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण अर्थतन्त्र उकास्नका निम्ति कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउँदै ‘समृद्घ धार्चे’ को सपना साकार बनाउने लक्ष्यका साथ सहकार्य गरेर अघि बढ्ने उद्घोष गरे। धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सिभिल बैंकले हालसम्म ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ५० अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ । धार्चे शाखाको स्थापना सँगै सिभिल बैंकको गण्डकी प्रदेशमा १२ सहित नेपाल भर कुल शाखा संख्या १०३ पुगेकोे छ ।

यस्तै बैंकले गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकमा पनि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको थियो ।