धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीमा भएको बिलम्ब व्यवसायी घरानहरुको स्वार्थ र राजनीति असहमतीको नतिजा

0
Shares

नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष छनोटको प्रक्रियामा आइतबार अन्तरवार्ता दिन नगएका प्रतिस्पर्धी बुधबार पनि उपस्थित नभएपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया अन्योलमा परेको छ ।

अर्थमन्त्रालयले सर्टलिस्ट भएर पनि कार्यायोजना प्रस्तुतिकरण तथा अन्तरवार्तामा आइतबार नजाने ३ जनाका लागि बुधबार बिहान ९ बजे अन्तर्वार्ताको समय तोकिएको थियो । बुधबार अन्तर्वार्ताका लागि बोलाइएका तीनै जना उम्मेदवार अनुपस्थित भएपछि बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया झनै पेचिलो बनेको हो ।

सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्ण बहादुर कार्की र बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् ।सर्टलिस्टमा परेका सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका दिएका थिए ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएपछि योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले बोर्डको अध्यक्षका लागि सार्वजनिक रुपमा आवेदन माग गरेको थियो । समितिले आह्वान गरेको आवेदनमा निवेदन दिएकाहरु मध्येबाट ५ जनालाइ सर्टलिस्ट गरेको थियो । समितिले पहिलो चरणमा छनोट गरेको उम्मेदवार हरुमा कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाई, डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ थिए ।

छनोट भएका ५ आवेदकलाई आइतबारका लागि कार्यायोजना प्रसतुतीकरण र अन्तरवार्ताका लागि आह्वान गरीएको थियो । तर, आइतबार मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायाण श्रेष्ठ मात्रै सहभागी भएपछि बाँकीका लागि बुधबार बेलाइएको थियो ।

धितोपत्र ऐन २०६३ अनुसार समितिले योग्यता पुगेका कम्तिमा तीन जना व्यक्तिको नाम सिफारिश गर्नु पर्छ । आइतबारको कार्यायोजना प्रस्तुतीकरण तथा अन्तरवार्तामा र्दुइ जना मात्रै सहभागी भएका थिए।

सर्टलिस्टका उम्मेदवारहरु अन्तर्वार्तामा उपस्थित नभएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द हुने सम्भावना बढेको छ । सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा भनिएको छ, ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ ।’ यही कानुनी व्यवस्था अनुसार अन्तर्वार्तामा सहभागी भएका २ जनाको नाम मात्रै सिफारिस गर्न नमिल्ने भएकाले छनोट प्रक्रिया रद्द हुने अवस्था देखिएको हो ।

धितोपत्र बोर्डको निवर्तमा अध्यक्ष रमेश हमालको कार्याकाल गत पुस २० गते देखि सकिएको हो । त्यसपछि धितोपत्र बोर्ड नेर्तत्व बिहीन अवस्थामा छन । पछिल्लो समयमा धितोपत्र ऐन २०६३ मा भएको संशोधनले अर्थमन्त्रालयको प्रतिनिधित्व गर्ने सञ्चालक अध्यक्ष हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार सरकारले नरेन्द्र कुमार राना बोर्डको अध्यक्षको रुपमा छन् । रानाले जिम्मेबारी पाएको भएपनि अध्यक्षको नियुक्ती प्रक्रिया समेत अघि बढेको हुनाले सञ्चालक समितिको बैंठक बस्ने तथा महत्वपुर्ण निर्णय नगरेको अवस्था छ । त्यसले गर्दा पनि धितोपत्र बोर्डका महत्वपुर्ण कामकारबाही तथा साधारण सेयर निष्कासनको अनुमती समेत रोकिएको छ ।

बोर्डको अध्यक्ष नियुक्तीको भएको बिलम्ब राजनीति असहमतीको नतिजाको रुपमा बुझिएको छ । राजनीति सहमती जुट्न नसक्नुमा व्यवसायी घरानहरुको स्वार्थले गर्दा पनि हो । केही व्यवसायीक घरानाहरु नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि राजनीति लवीङ गरीरहेको हुनाले पनि बोर्डको अध्यक्ष नियुक्तीको विषय जटिल हुन पुगेको हो । व्यवसायीहरुको सक्रियताले बोर्ड अध्यक्ष नियुक्तीमा ठुलो रकमको चलखेल भएको आसंङका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।