नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख

0
Shares

नेपालको सार्वजनिक ऋण २४ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

कार्यालयका अनुसार पछिल्लो एक महिनामा ६ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । वैशाख मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २३ खर्ब ९३ अर्ब ८६ करोड ३ लाख रुपैयाँ रहेको थियो । चालु आवको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो। चालु आवको ११ महिनामा मात्र एक खर्ब ९९ करोड बराबर ऋण थपिएको हो।

जेठ मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण मध्ये ५०.३२ प्रतिशत बाह्य तथा ४९.६८ प्रतिशत आन्तरिक ऋण लिएको छ । जस अनुसार जेठ मसान्तसम्ममा बाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड तथा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड रहेको छ ।

सरकारले हालसम्म लिएको वैदेशिक ऋणमा बहुपक्षिय ऋणको हिस्सा ४४.६२ प्रतिशत तथा द्धिपक्षीय ऋणको हिस्सा ५.७० प्रतिशत रहेको छ ।

त्यस्तै हालसम्म लिएको आन्तरिक ऋणमा सबैभन्दा ठूलो हिस्सा विकास ऋणपत्रको रहेको छ । विकास ऋणपत्र मार्फत ३१.८७ प्रतिशत ऋण उठाएको छ । त्यस्तै ट्रेजरी बिल्स मार्फत १७.१९ प्रतिशत, नागरिक बचतपत्र मार्फत ०.४५ प्रतिशत, आइएमएफ बोन्ड मार्फत ०.१६ प्रतिशत तथा वैदेशिक रोजगार बचतपत्र मार्फत ०.०१ प्रतिशत आन्तरिक ऋण लिएको छ ।

त्यस्तै आन्तरिक ऋणतर्फ विकास ऋणपत्रको दायित्व सबैभन्दा बढी सात खर्ब ६४ अर्ब ९४ करोड बराबर छ। हालसम्मको ट्रेजरी बिलको दायित्व चार खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचतपत्रको दायित्व १० अर्ब ७५ करोड, वैदेशिक रोजगारी बचतपत्रको दायित्व १७ करोड र आईएमएफ बण्डको दायित्व तीन अर्ब ९१ करोड बराबर छ।

यस्तै, चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठसम्म ३ खर्ब ७ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण संकलन गरेको छ । जसमध्ये २ खर्ब २५ अर्ब आन्तरिक र ८२ अर्ब ६७ करोड रुपैयाँ बाह्य ऋण लिएको छ । चालु आर्थिक वर्षमा ४ खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने सरकारको लक्ष्य छ ।

यसअनुसार जेठसम्म वार्षिक लक्ष्यको ६७.९६ प्रतिशत प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । सोही अवधिमा आन्तरिक ऋण प्राप्ति लक्ष्यको ९३.७५ र बाह्य ऋण ३८.८६ प्रतिशत छ । यस अवधिमा सरकारले धेरै आन्तरिक ऋण संकलन गरे पनि बाह्य ऋण प्राप्ति लक्ष्यभन्दा कम देखिन्छ ।

पछिल्लो ११ महिनामा सरकारले कुल २ खर्ब ७१ अर्ब १९ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ । यसमध्ये साँवा १ खर्ब ९७ अर्ब ३२ करोड र ब्याज ७३ अर्ब ८६ करोड रुपैयाँ छ । कुल ऋण भुक्तानीमध्ये २ खर्ब २७ अर्ब २० करोड आन्तरिक र ४३ अर्ब ९९ करोड रुपैयाँ बाह्य ऋण भुक्तानी गरेको कार्यालयको तथ्यांक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।