वैदेशिक व्यापारमा गिरावट कायमै, एघार महिनाको घाटा १३ खर्ब नाघ्यो

0
Shares

चालू आर्थिक वर्ष २०८०/८१ को एघार महिना अर्थात साउनदेखि जेठसम्ममा मुलुकको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ नाघेको छ ।

गत वैशाखको अन्त्यसम्ममा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको थियो । पछिल्लो एक महिनामा व्यापार घाटा एक खर्ब ३७ अर्ब धेरैले बढेको हो ।

जेठसम्म मुलुकले व्यहोरेको व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा १.७२ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले १३ खर्ब ३७ अर्ब ३९ करोड व्यापार घाटा व्यहोरेको थियो ।

भन्सार विभागका अनुसार पछिल्लो एघार महिना अर्थात जेठसम्ममा १५ खर्ब ९२ अर्ब ९६ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १६ खर्ब २४ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । गत आवको तुलनामा कुल वैदेशिक व्यापार १.९५ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको ११ महिनजा अवधिसम्ममा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात १.८४ प्रतिशतले घटेको छ भने निर्यात पनि ३.०१ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार जेठ महिनासम्ममा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात भएको छ । गत वर्षको यही अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएकोे थियो।

त्यस्तै, यस अवधिमा १ खर्ब ३९ करोड २६ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँको वस्तु र सेवा निर्यात भएको थियो ।

समग्रमा व्यापार घटेर पनि राजस्व भने बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार विभागमार्फत् उठ्ने राजस्व ८.४५ प्रतिशतले बढेको छ। जेठ महिनासम्म भन्सार विभागले तीन खर्ब ८६ अर्ब राजस्व संकलन गरेको छ। गत वर्षको जेठ महिनासम्म तीन खर्ब ५५ अर्ब राजस्व संकलन गरेको थियो। राजश्व बढेपनि यस अवभिा लक्ष्यको तुलनामा भने ६७ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। सरकारले जेठसम्म ५ खर्ब ७६ अर्ब भन्सार राजस्व उठ्ने लक्ष्य राखेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।