सेबोनले दियो साढे पाँच महीनापछि सार्वजनिक निष्कासन अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साढे पाँच महीनापछि हिमालयन उर्जा विकास कम्पनीलाई सार्वजनिक निष्कासन गर्न अनुमति दिएको छ । निवर्तमान बोर्ड अध्यक्ष रमेश हमालको कार्याकाल सकिएपछि बन्द रहेको सार्वजनिक निष्कासन अनुमतिको बाटो हिमालयन उर्जा विकास कम्पनीबाट खुला भएको हो ।

बोर्डले असार ७ गते शुक्रबार हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको हो । यसअघि २०८० पुस १९ गते अर्थात रमेश हमालको कार्यकालको अन्तिम दिनभन्दा अघिल्लो दिन बोर्डले रिडी पावर कम्पनी लिमिटेडलाई अन्तिम पटक चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बिक्रीको अनुमति पाएको थियो ।

बोर्ड अध्यक्ष रिक्त भएसँगै सार्वजनिक निष्कासनको लागि अनुमति माग्ने काम जारी रहेपनि सेबोनबाट निष्कासन अनुमतिको बाटो भने बन्द भएको थियो । हिमालय ऊर्जालाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न शुक्रबार अनुमति दिइएसँगै अब बाटो खुला भएको हो ।

सेबोनले हिमालयन उर्जालाई १ बराबर १ अनुपातमा (शतप्रतिशत) ९९ लाख १ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । उक्त हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यसबीचमा ३५ कम्पनीका प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ), १३ कम्पनी हकप्रद र ५ कम्पनीको थप सार्वजनिक निष्कासन (एफपीओ), २ कम्पनीको डिबेञ्चर, र ९ कम्पनीले सामुहिक लगानी कोषको इकाई जारी गर्नका लागि अनुमति माग्दै पाइपलाइनमा रहेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।