गरिबीको दर सुदूरपश्चिममा सबैभन्दा धेरै

0
Shares

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० को नतिजा बमोजिम गरिबीको दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै देखिएको छ ।

सर्वेक्षणका अनुसार नेपालमा गरिबको दर २०.२७ प्रतिशत रहेकोमा सुदूरपश्चिम प्रदेशमा भने ३४.१६ प्रतिशत रहेको छ । उक्त सर्वेक्षणले वार्षिक ७२ हजार ९ सय ८ रुपैयाँभन्दा कम उपभोग गर्ने व्यक्तिलाई गरिबीको रेखामुनि राखेको छ ।

२०६६/६७ मा सार्वजनिक तेस्रो जीवनस्तर सर्वेक्षणले नेपालको गरिबी २५.१६ प्रतिशत रहेको देखाएको थियो। २०७२ सालमा आएको विनाशकारी भूकम्प, कोरोना महामारी, युद्धलगायत राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणले अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको देखिन्छ ।

प्रदेशगत रुपमा हेर्दा सुदूरपश्चिम (३४.१६ प्रतिशत), कर्णाली (२६.६९ प्रतिशत) र लुम्बिनी (२४.३५ प्रतिशत) प्रदेशमा राष्ट्रिय स्तरभन्दा बढी गरिबी रहेको छ भने सबैभन्दा कम गरिबी रहेको प्रदेशहरुमा क्रमशः गण्डकी ( ११.८८ प्रतिशत), बागमती (१२.५९ प्रतिशत) र कोशी (१७.१९ प्रतिशत) रहेका छन्।

यस सर्वेक्षणले असमानता मापनको लागि प्रयोग गरिने गिनी सुचकाङ्कको मान राष्ट्रिय रुपमा ०.३ रहेको देखाएको छ भने ग्रामीण र शहरी क्षेत्रको मान ०.२८७ र ०.३०३ रहेको देखाएको छ । यसले उपभोगमा ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रको असमानता धेरै भएको देखाउँछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।