मधेश प्रदेशमा कृषि तथा पशुजन्य उत्पादनमा सुधार, उद्योगहरुको उत्पादन क्षमता उपयोग साढे २९ प्रतिशत

0
Shares

आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ५३ खर्ब ४८ अर्ब रहने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ । त्यस्तै, मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ७ खर्ब ३ अर्ब रहने अनुमान छ ।

नोपला राष्ट्र बैंकले तयार गरेको आर्थिक वर्ष २०८०/८१ को प्रथम अर्ध-वार्षिक अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा १.९५ प्रतिशत र मधेश प्रदेशको आर्थिक वृद्धिदर १.५० प्रतिशत रहने संशोधित अनुमान छ ।

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको (३५ प्रतिशत) रहेकोमा सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको (०.१५ प्रतिशत) रहेको छ ।

समीक्षा अवधिमा मधेश प्रदेशमा खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफलमा ८.०१ प्रतिशत, तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफलमा १०.३२ प्रतिशतले र फलफूल तथा मसलाले ओगटेको क्षेत्रफलमा २.४३ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा ७.४९ प्रतिशत र तरकारी तथा बागवानी उत्पादनमा १.५७ प्रतिशतलेकमी भएको छ भने फलफूल तथा मसला उत्पादनमा ५.५३ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा पशुजन्य उत्पादनतर्फ दूध र मासुको उत्पादन क्रमशः १०.१३ प्रतिशत र ४.७७ प्रतिशतले वृद्धि भएको छ भने अण्डाको उत्पादनमा १६.६५ प्रतिशतले कमी आएको छ । माछाको उत्पादन ९.६९ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनअन्तर्गत काठको उत्पादन ६५.७ प्रतिशतले वृद्धि भएको छ भने दाउराको उत्पादन ६८.६ प्रतिशतले घटेको छ ।

२०८० पुस मसान्तमा मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ५८ अर्ब ५२ करोड कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको १२.३८ प्रतिशत हुन आउँदछ ।

समीक्षा अवधिमा अध्ययनमा समेटिएका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा २९.६० प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा १.१२ प्रतिशतले कमी आई १ खर्ब १२ अर्ब ७५ करोड कायम भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा १ खर्ब १४ अर्ब रहेको थियो ।

समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेसन संख्यामा ३.२० प्रतिशतले वृद्धि भई ४४ हजार ६५२ पुगेको छ भने घरजग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा ०.००४ प्रतिशतले कमी आएको छ ।

२०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशबाट परिचालन गरेको निक्षेप १९.४२ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब ३० करोड पुगेको छ । कर्जा प्रवाह भने ३.८९ प्रतिशतले घटी ४ खर्ब ३५ अर्ब ३८ करोड कायम भएको छ।

मधेश प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, पूर्व–पश्चिम रेलमार्ग आयोजना, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन्। उपयुक्त अयोजनाहरुमध्ये हुलाकी सडक मार्गको निर्माणको गति तुलनात्मक रुपमा उच्च रहेको छ।

मधेश प्रदेशका ८ वटा जिल्लाहरूमा भएका आर्थिक गतिविधिहरु स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्याङ्क एवम् राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको तथ्याङ्कका आधारमा तयार गरिएको आर्थिक वर्ष २०८०/८१ को प्रथम अर्ध-वार्षिक अध्ययन प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।