सत्ता समीकरण फेरबदलको चर्चाले नेप्सेमा दोहोरो अंकको वृद्धि

0
Shares

वर्तमान सत्ता समीकरण फेरबदल हुने समाचारका कारण सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से एमाले–कांग्रस गठबन्धन निर्माण हुने समाचारका कारण सोमबार बढेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२९ अङ्कले उकालो लागेर २०५३ दशमलव ३८ अंकमा पुगेको हो । यसदिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०१अङ्कले उकालो लागेर ३६१ दशमलव ७७ अंकमा पुगेको छ ।  यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक बढेसँगै नेप्से बढेको हो। कारोबारमा आएका १३ उपसमूहमध्ये ११ ओटा बढेको छ भने वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक मात्र घटेको छ । बैंकिङ्ग सर्वाधिक २.०४ प्रतिशत बढेको भने विकास बैंक १.३१ प्रतिशत बढेको छ।

आज कूल ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर ४४ हजार १६९ पटकको कारोबारमा २ अर्ब ९९ करोड ९९ दलाख ६५ हजार २१ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन आइतबार ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँ सेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार सोमबारको बजारबाट हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.७४ प्रतिशतले बढेर २९९ रुपैयाँ ६० पैसा पुगेको छ । यसैगरी दोर्दी खोला जलविद्युत् कम्पनी ८.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ७.५२, हिमालयन बैंकको ऋणपत्र ७.४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले ७.०७ प्रतिशतले कमाएका छन्।

यसदिन नेपाल फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेर प्रतिकित्ता ८७३ रुपैयाँमा झरेको छ । यसैगरी मैलुङ खोला जलविद्युत् कम्पनकीको ८.४४, स्वाभिमान लघुवित्त ३.९७, कुमारी सबल योजनाको ३.६० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३.४३ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १९ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ११ करोड ८५ लाख, जानकी फाइनान्सको ९ करोड ७६ लाख, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको ८ करोड ४१ लाख रुपैयाँ र दोर्दीखोला जलविद्युत कम्पनीको ७ करोड ४४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ५६ अर्ब ६ करोड १४ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।