एक खर्ब २९ अर्ब एसडिएफले तरलता व्यवस्थापन नभएपछि निक्षेप संकलन मार्फत ५० अर्ब खिच्दै राष्ट्र बैंक

0
Shares

केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीको तरलता खिच्न नसकेपछि निक्षेप संकलन उपकरणको पनि प्रयोग गर्दै आएको छ ।

मंगलबार स्थायी निक्षेप संकलन मार्फत १ खर्ब २९ अर्ब ७० करोड लिएको केन्द्रीय बैंकले बुधबार ५० अर्बको निक्षेप संकलन गर्ने भएको हो । केन्द्रिय बैंकले २१ दिनको लागि उक्त रकम वित्तीय प्रणालीबाट खिच्न लागेको हो ।

अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा कर्जा माग अपेक्षा गरे अनुसार हुन सकेन । साथै रेमिट्यान्स आप्रबाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेप बढ्न मद्दत पुग्यो । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको हो ।

वित्तीय प्रणालीमा देखिएको अधिक तरलताका कारण बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर पनि क्रमिक रुपमा घटाउदै आएका छन् । तर पनि कर्जाको माग बढ्न सकेको छैन । केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रण गर्न नीतिगत कडाइ गरेकाले पनि कर्जा लगानी बढ्न नसकेको हो ।

बैंकहरुले पनि कर्जा लगानी विस्तार भन्दा पनि कोरोना तथा आर्थिक मन्दीका कारण ‘डिफल्ट’ भएको कर्जा असुलीमा केन्द्रीत हुन थाले । बढ्दो खराब कर्जाका कारण बैंकहरु असुलीमा केन्द्रीत हुँदा पनि कर्जा लगानी सुस्त हुनुमा मद्दत पुग्यो। त्यसले समेत अधिक तरलताको समस्या बढ्नमा सहयोग पुगेको हो।

बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा आइतबार, मंगलबार र शुक्रबार केन्द्रीय बैंकमा सिधै निक्षेप राख्न सक्छन । यसरी राखेको निक्षेपबाट बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदर पाउछन ।

मंगलबार बैंक तथा वित्तीय संस्थाले १ खर्ब २९ अर्ब ७० करोड रुपैयाँ सिधै केन्द्रीय बैंकमा निक्षेप राखेका छन् । गत आइतबार मात्रै बैंकहरुले एक खर्ब २५ अर्ब १५ करोड रुपैयाँ स्थायी निक्षेप राखेका थिए । यसबाट पनि वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि बुधबार केन्द्रीय बैंकले २१ दिन अवधिको ५० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्ने भएकोे हो ।

त्यसका लागि बोलकबोलका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गरिने छ । राष्ट्र बैंकका अनुसार बोलकबोल गर्न सकिने रकम घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वन रकमसम्म बोलकबोल गर्न सकिने छ । यो निक्षेपको साँवा र ब्याज साउन ९ गते भुक्तानी गरिने छ ।

केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम भएको खण्डमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुन्छ । पछिल्लो समयमा अन्तर बंैक ब्याजदर ३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन बढिरहेको छ । निक्षेप बढेअनुसार कर्जा माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणाली मार्फत तरलता तानिरहेको छ । केन्द्रीय बैंकका अनुसार हाल वित्तीय प्रणालीमा झण्डै ८३ अर्ब अधिक तरलता रहेको छ ।

केन्द्रीय बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ६३ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा मात्रै ५६ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । यस्तै, विकास बैंक र फाइनान्स कम्पनीमा ७ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

साथै हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमा वाणिज्य बैंकले ४५ खर्ब ५६ अर्ब र विकास बैंक तथा फाइनान्सले ५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकिङ प्रणालीमा लगातार निक्षेप थपिरहने तर कर्जा लगानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा तल आएको छ । बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ७९.१८ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।