व्यापार र फाइनान्स उपसमूहमा ६ प्रतिशत बढीको बढोत्तरी, कारोबार पाँच अर्ब माथि उक्लियो

0
Shares

धितोपत्र बजारमा बुधबार व्यापार र फाइनान्स उपसमुहगत सूचकमा उच्च वृद्धि भएको छ । प्रधानमन्त्रीको संसदमा विश्वासको मत परीक्षण गर्ने निर्णयपछि तत्काल सरकार परिवर्तन नहुने छाँट देखिएपछि लगानीकर्ता ‘लो क्याप’ कम्पनीमा प्रवेश गरेका हुन् ।

दोस्रो बजारका लगानीकर्ताहरुको आकर्षण बढेपछि आज ब्यापार ६.१२ प्रतिशत र फाइनान्स सबइन्डेक्स ६.०४ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक २.७१ प्रतिशतले बढेको बजारमा बैंकिङ्ग र लगानी पनि सामान्य बढेका छन् । घटेका ८ मध्ये आज उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक १.०७ प्रतिशतले घटेको छ भने बाँकी एक प्रतिशतभन्दा कम घटेको छ ।

बुधबार नेप्से ३.७९ अंक बढेर २१०४.२२ विन्दुमा अडिएको छ । सेन्सेटिभ इन्डेक्स २.१३ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०४ अंक बढेको छ । बिहानकाे ऋणात्मक बजार सकारात्मक भएसँगै दैनिक कारोबार रकम पाँच अर्ब नाघेको छ। यसदिन ३१४ स्टकको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर ६१ हजार १९९ पटकको कारोबारमा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको धितोपत्र किनबेच भएको थियो ।

सेन्ट्रल फाइनान्स, आईसीएफसी फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग गरी तीन ओटा कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेर आज सकारात्मक सर्किट लागेको छ। यससँगै सेन्ट्रल फाइनान्सको मूल्य ५२६.९० रुपैयाँ, आईसिएफसि फाइनान्सको ६२२.६० रुपैयाँ र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको ४८१.७० रुपैयाँ पुगेको छ । यस्तै मञ्जुश्री फाइनान्स ९.९६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक ८.०८ प्रतिशतले बढेको छ।

चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.७० प्रतिशत घटेर ५८६.१० रुपैयाँमा झरेको छ । हिमालयन उर्जा विकास कम्पनीको ४.२७ प्रतिशत, माण्डू हाइड्रोपावरको ४.११, प्रभु सेलेक्ट फन्डको ४.०१ प्रतिशत र बोटलर्स नेपाल लिमिटेडको ३.९६ प्रतिशतले घटेको छ ।

मञ्जुश्री फाइनान्स कारोबार रकमका आधारमा सबैभन्दा अगाडि छ । फाइनान्सको दिनभरमा २३ करोड २ लाखको सेयर कारोबार भएको छ। त्यस्तै आईसिएफसि फाइनान्सको १७ करोड ४९ लाख, रिलायन्स फाइनान्सको १६ करोड ५२ लाख, सेन्ट्रल फाइनान्सको १३ करोड ५ लाख रुपैयाँ र जानकी फाइनान्सको १२ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण ३३ खर्ब ३६ अर्ब ६७ करोड ९८ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।