जेष्ठ नागरिकलाई सन्तानको आम्दानीको १० प्रतिशत रकम, जेष्ठ नागरिक क्लवको लेखापरिक्षण अनिवार्य

0
Shares

जेष्ठ नागरीक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकलाई आफ्ना सन्तानले आम्दानीको १० प्रतिशत रकम दिनुपर्ने भएको छ । सरकारले जेष्ठ नागरिकका सन्तानलाई पनि जिम्मेबार बनाउँदै आम्दानीको १० प्रतिशत रकम जेष्ठ नागरिकको खातामा पठाउन लगाउने व्यवस्था गरेको हो ।

सरकारले जेष्ठ नागरिक नियमावली २०६५ लाई संशोधन गर्दै सन्तान वा हकवालाले मासिक रुपमा आम्दानीको १० प्रीतशत रकम दिनुपर्ने व्यवस्था गरेको हो ।

जेष्ठ नागरिक ऐन अनुसार स्थानीय तहले जेष्ठ नागरिकको जीवन यापनामा समस्या देखेमा निजका सन्तान वा नजिकको हकवालाको आर्थिक आम्दानी पहिचान गरी तोकिए बमोजीमको रकम मासिक रुपमा सम्बन्धित खातामा जम्मा गर्न लगाउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाका आधारमा सरकारले नियमावली संशोधन गर्दै जेष्ठ नागरिकलाई सन्तानले रकम दिनुपर्ने व्यवस्था थप गरेको हो । तर, तोकिएको न्यूनतम आम्दानी नभएका व्यक्तिको हकमा भने जेष्ठ नागरिकको न्यूनतम आधारभुत आवश्यकता पुरा गर्ने दायीत्व स्थानीय तहको हुने ऐनमा उल्लेख छ ।

संशोधित नियमावली अनुसार नेपाल सरकारले प्रचलित कानून बमोजिम श्रमिकका लागि निर्धारण गरेको न्यूनतम् मासिक पारिश्रमिक भन्दा कम आम्दानी भएको व्यक्तिले जेष्ठ नागरिकको खातामा रकम जम्मा गर्नु पर्दैन । साथै आय आर्जनबाट खान, लाउन, आधारभूत औषधि उपचार गर्न तथा अन्य आवश्यकता पूरा गर्न पुग्ने वार्षिक आम्दानी भएका ज्येष्ठ नागरिक बाबु आमाको लागि पनि रकम जम्मा गर्नुपर्दैन ।

ज्येष्ठ नागरिकलाई सेवा दिने गरी स्थापन भएका ज्येष्ठ नागरिक क्लबलाई नेपाल सरकार, सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले रकम उपलब्ध गराउन सक्नेछन् । तर वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने ज्येष्ठ नागरिक क्लवलाई रकम उपलब्ध नहुने व्यवस्था नियमावलीमा छ ।

बेवारिसे अवस्थामा फेला परेको वा असहाय ज्येष्ठ नागरिकलाई स्थानीय तहले स्थानीय ज्येष्ठ नागरिक समितिको समन्वयमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा सञ्चालित हेरचाह केन्द्र वा सेवा केन्द्र भए सो केन्द्रमा र नभए निजी वा गैर सरकारी क्षेत्रबाट सञ्चालित हेरचाह केन्द्रमा राख्ने व्यवस्था मिलाउने छ । हेरचाह केन्द्र वा सेवा केन्द्रमा राखिएको बेवारिसे ज्येष्ठ नागरिकको परिवारको सदस्य फेला परेमा त्यस्तो ज्येष्ठ नागरिकलाई निजको परिवारको जिम्मा लगाउनु पर्ने व्यवस्था नियमावलीमा छ ।

हेरचाह केन्द्र वा सेवा केन्द्रमा राखिएका ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाहको सम्बन्धमा त्यस्तो हेरचाह केन्द्र वा सेवा केन्द्रले आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा लेखी पठाउनु पर्नेछ । त्यसैगरी जेष्ठ नागरिकले समय समयमा नेपाल सरकारले तोके बमोजिमको भत्ता वा सुविधा पाउन सक्नेछन् ।

केन्द्रीय ज्येष्ठ नागरिक समितिले नेपाल सरकारले स्थापना र सञ्चालन गरेका हेरचाह केन्द्र, दिवा सेवा केन्द्र र सेवा केन्द्रको वर्षको कम्तीमा एक पटक निरीक्षण गरी सोको प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्नु पर्नेछ । स्थानीय ज्येष्ठ नागरिक समितिले स्थानीय तह वा कुनै व्यक्ति वा प्रचलित कानून बमोजिम गठन भएको सङ्घ, संस्थाले स्थापना र सञ्चालन गरेको हेरचाह केन्द्र, दिवा सेवा केन्द्र र सेवा केन्द्रको वर्षको कम्तीमा एक पटक निरीक्षण गरी सोको प्रतिवेदन स्थानीय तह समक्ष पेस गर्नुपर्नेछ । निरीक्षण गर्दा अन्य कुराको अतिरिक्त ऐन, यस नियमावली वा प्रचलित कानून विपरीत कुनै काम कारबाही भएको पाइएमा सो समेत निरीक्षण प्रतिवेदनमा खुलाउनु पर्नेछ ।

सेवा केन्द्रले ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सीप र अनुभव उपयोग गरी कुनै वस्तु वा सेवा उत्पादन वा निर्माण गर्ने काम गर्न सक्ने वयव्सथा नियमावलीमा उल्लेख छ । त्यसैगरी ज्येष्ठ नागरिक द्वारा लिखित सम्पादित लेख रचना प्रकाशन गर्ने तथा क्षमता र रुची अनुसारका आय आर्जन हुने अन्य कुनै कार्यक्रम गर्न सक्छ ।

सेवा केन्द्रले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्नका लागि अन्तर क्रियात्मक कार्यक्रम सञ्चालन गर्नेछ। ज्येष्ठ नागरिकलाई निजको दक्षता र रुची अनुसार अध्ययन, अनुसन्धान गराउने काममा सहभागी गराउन सक्ने व्यवस्था नियमावलीमा थप गरिएको छ । ज्येष्ठ नागरिकलाई निजको दक्षता, क्षमता र रुची अनुसार कुनै उद्यम वा रोजगारमा संलग्न गराउनका लागि तालिम सञ्चालन गर्ने काम पनि सेवा केन्द्रले गर्नु पर्नेछ ।

उद्यम वा रोजगारीमा संलग्न हुन चाहने ज्येष्ठ नागरिकलाई निजको क्षमताको आधारमा उद्यम वा रोजगारीमा संलग्न गराउन स्थानीय तह समक्ष सिफारिस गर्ने काम पनि सेवा केन्द्रलाइ तोकिएको छ । आयमूलक कार्यक्रमबाट उत्पादित वस्तु वा सेवाको बिक्री वितरणको लागि स्थानीय तहभित्रका सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक समन्वय गर्ने काम पनि सेवा केन्द्रको रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।