सामाजिक सुरक्षा कोषमा पौने ५८ अर्बभन्दा बढी रकम संकलन, साढे ९ अर्ब धेरै दाबी भुक्तानी

0
Shares

सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताहरुबट पौने ५८ अर्बभन्दा बढी संकलन भएको छ । १४ लाख ६७ हजार योगदानकर्ताको उक्त रकम संकलन भएको हो ।

विसं २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन गर्न थालेको थियो । करिब चार वर्षको समयमा कोषमा योगदान रकमको रूपमा ५७ अर्ब ७९ करोड ८९ लाख रुपैयाँ संकलन भएको हो । गत वैशाखसम्म योेगदान रकमबापत ५५ अर्ब ३ करोड रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्षको ११ महिनामा मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

वैदेशिक रोजगारीमा रहेका, स्वदेशभित्र काम गरिरहेकाहरूले कोषमा योगदान रकम संकलन गर्ने क्रम बढेसँगै योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि भएको कोषले जनाएको छ । कोषमा सूचीकृत योगदानकर्ताको संख्या बढ्दै गएपछि योगदान रकम पनि बढेको हो । असार १९ गतेसम्म कोषमा १९ हजार १५६ रोजगारदाता सूचीकृत भएको सामाजिक सुरक्षा कोषले बताएको छ । यी रोजगारदाताबाट १४ लाख ६७ हजार ३३६ जना श्रमिक आबद्ध भएका छन् ।

यस अवधिमा कोषले श्रमिकलाई कुल ९ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कोषले अवकाशमा सबैभन्दा धेरै दावी रकम भुक्तानी गरेको छ । जसमा कोषले ८ अर्ब १४ करोड २० लाख रुपैयाँ भुक्तानी दिएको हो । यसैगरी औषधि उपचार, स्वास्थ्य तथा मातृत्व वापत १ अर्ब १७ करोड ६४ लाख रुपैयाँ दावी भुक्तानी गरेको कोषले १५ करोड ११ लाख रुपैयाँ आश्रित परिवार सुरक्षा वापत भुक्तनी गरेको छ। साथै १२ करोड ९९ लाख रुपैयाँ दुर्घटना तथा अशक्तता सुरक्षा वापत दावी भुक्तानी गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।