सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी सर्भेक्षक र वन अधिकृत विरुद्ध मुद्धा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय वीरगञ्जमा कार्यरत सर्भेक्षक रामनरेश पासवानविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निजले जग्गा हालसाविक गरी पुनःनापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग ७५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

निजले सेवाग्राहीसँग जग्गा हालसाविक गरी नयाँ पूर्जा मिलाइदिने भनी उक्त रकम घुस लिएको तथ्य निर्विवाद पुष्टि भएको आयोगले आरोप लगाएको छ ।

यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग २५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

यसैगरी आयोगले हिजै सवडिभिजन कार्यालय सैनामैना रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठविरुद्ध पनि आरोपपत्र दायर गरेको छ । घर निर्माणका लागि काठ उपलब्ध गराउन ‘भेरिफिकेसन’ गराएवापत सेवाग्राहीसँग पाँच हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।