धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती: अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

0
Shares

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया थप लम्बिने भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले असार १८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै रिटको अन्तिम फैसला नभएसम्म अध्यक्ष चयन प्रकृया रोकिने भएको हो ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेजीपछि आकांक्षीमध्येका एक सन्तोष नारायण श्रेष्ठले हालेको मुद्दामा शुक्रबारको संयुक्त इजलासले न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले गत मंगलबार गरेको निर्णयलाई निरन्तरता दिएको हो ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न गठन गरेको समिति विघटन गर्दै अध्यक्ष नियुक्तिको सबै प्रकृया रद्द गरेपछि परेको रिटमा मुसलमानको इजलासले गत मंगलबार नयाँ अध्यक्ष छनोट प्रक्रिया रोक्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । शुक्रबार न्यायाधिसहरु सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले एकल इजलासको निर्णयलाई सदर गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयले कानुनी व्यवस्था अनुसार धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तरवार्ता तथा योजना प्रस्तुतीकरण गरेका दुई जनालाई मात्र सिफारिस गर्न नमिल्ने राय दिएकोथियो । सोही साय अनुसार सरकारले गत फागुनमा गठन गरेको समिति र उक्त समितिले अघि बढाएका सबै प्रकृया रद्द गर्दै धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न नयाँ समिति गठन गरेको थियो । सरकारले पुरानो प्रक्रिया खारेज गरेर पुनः पुरानो संयोजक र उही समितिका सदस्यहरु रहेको अर्को समिति बनाएको हो ।

रिट निवेदक श्रेष्ठले पुरानो प्रकृया रद्द गर्न निमिल्ने तथा सरकारले गठन गरेको नयाँ समितिलाई काममा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए । जसमा सर्वोच्चले नयाँ प्रक्रिया यथास्थानमा राख्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । मुद्दाको अर्को पेशी साउन दोस्रो सातालाई तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।