निर्माण थालिएको १० वर्षमा पनि बनेन क्रिकेट मैदान


महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा विसं २०७२ मा क्रिकेट मैदान निर्माण सुरु भए पनि अझै पूरा हुन सकेको छैन ।

महेन्द्रनगरबाट राष्ट्रियस्तरमा चर्चित खेलाडी दीपेन्द्रसिंह ऐरीदेखि दर्जनभन्दा बढी खेलाडी उत्पादन भए पनि खेलाडीले अझै यहाँ खेल पूर्वाधार भने पाउन नसकेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए।

एक वर्षभित्र निर्माण पूरा गर्नुपर्ने क्रिकेट मैदान रकम अभावकै कारण एक दशकपार गर्दा पनि बन्न नसकेको उहाँले बताउनुभयो । “निर्माण थालिए यता विभिन्न समयमा गरेर डेढ लाख बजेट आए पनि मैदानमा माटो भरानमै सकियो ।” अध्यक्ष चन्दले भने, “यो पटक भने राष्ट्रिय खेलकुद परिषद्ले ३ करोड बजेट विनियोजन गरेर ठेक्का आह्वानको प्रक्रियामा छ ।”

दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, भीम सार्की, सन्दीप जोरा लगायतका खेलाडीहरुको गृहनगर महेन्द्रनगरमा खेल संरचना बन्ने आशामा वर्षौ कुर्नुपरेको छ । “तीन करोडको ठेक्का भएर काम थालेपछि अर्को वर्षदेखि नै हाम्रो खेलाडीले क्रिकेट मैदानमा खेल्न र प्रतियोगिता सञ्चालन गर्न सक्ने हुन्छ”, अध्यक्ष चन्दले भने, “क्रिकेट मैदानका लागि जिल्ला खेलकुद समितिको गुरुयोजनाअनुसार नै अघि बढेका छौँ ।”

उनले निर्माणाधीन क्रिकेट मैदानको जमिनमा माटो भरानमै रकम खर्च भएको बताए। “बजेट आएको भए उहिल्यै मैदान बनिसक्थ्यो ।” चन्दले भने, “कञ्चनपुरसँगै सुदूरपश्चिममै क्रिकेटको गतिलो पूर्वाधार नरहेको अवस्था छ ।” पछिल्लो समय क्रिकेट प्रतिको आकर्षण बढिरहेका बेला सङ्घ र प्रदेश सरकारले त्यसमा लगानी गर्नुपर्ने जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहको भनाइ छ ।

“जारी एनपीएलमा कञ्चनपुरका मात्रै १३ जना खेलाडी विभिन्न टिमबाट खेल्दै छन्”, अध्यक्ष सिंहले भने, “हरेक राष्ट्रिय तथा क्रिकेट संस्करणमा हाम्रा खेलाडीको उपस्थितिले कञ्चनपुर क्रिकेटको प्रतिभावान् खेलाडी जन्माउने जिल्लाका रुपमा परिचित छ भन्ने देखाउँछ ।”

उनले कञ्चनपुरमा क्रिकेटलगायत खेल पूर्वाधार निर्माणमा राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए। “प्रदेश सरकारको लगानीमा बहुउद्देश्यीय कर्वडहल पनि बन्दै छ ।” सिंहले भने, “बृहत छैटौँ राष्ट्रिय खेलकुद हुँदा यहाँ क्रिकेट पिचबाहेक क्रिकेट खेलका अरु संरचना बन्न सकेनन् ।”

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार  १५ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।