पेप्सी उत्पादक बरुण बेभरेजको साढे ८ महिनाको आम्दानी चार अर्ब ८० करोड

0
Shares

हल्का पेयपदार्थ पेप्सीको लागि नेपालको आधिकारिक बिक्रेता बरुण बेभरेजको आम्दानी आकर्षक बढेको छ ।

इक्रा नेपालका अनुसार सन् २०२४ को साढे आठ महिनामा ४ अर्ब ८० करोड ४० लाख आम्दानी गरेको छ । सन २०२३ मा ७ अर्ब ६२ करोड ७० लाख आम्दानी गरेको बरुण बेभरेजले सन् २०२२ मा ८ अर्ब २ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो।

अन्तार्राष्ट्रिय ब्राण्ड पेप्सीको आधिकारिक बिक्रेता रहेको बरुण बेभरेजलाई पेप्सीकोले पर्याप्त मात्रामा प्राविधिक तथा वित्तीय सहयोग गरेको छ । कम्पनीको बलियो वित्तीय छवीले पनि कम्पनीलाई वित्तीय सहजता प्रदान गरेको छ । नेपाली बजारमा सफ्ट ड्रिङ्क्सको माग बढ्दै गएको छ र अधिकांश मानिसहरुको रोजाइमा कम्पनीले उत्पादन गर्ने ड्रिङ्कसहरु रहेका छन् ।

सन् १९८५ मा स्थापना भएको कम्पनीले पेप्सी, माउन्टेन डीउ, स्लाइस, मिरिन्डा, सेभन–अप, एक्वाफिना, सोडा ब्रान्डको नामबाट सफ्ट ड्रिङ्कसहरुको उत्पादन गर्दै आएको छ ।

यस अघि २ अर्ब ४८ करोड ८८ लाख बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ए-१ रेटिङ दिएको थियो । कम्पनीले ३ अर्ब ४७ करोड ३० लाख बराबरको अल्पकालीन कर्जाका लागि पुनः रेटिङ गराएको छ । इक्रा नेपालले यस अघि गरेको रेटिङमा बढुवा गरी उक्त कर्जाका लागि ए-१ प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।