नेप्सेमा छैटौं दिनमा सामान्य गिरावट, एक अर्ब बढीले घट्यो कारोबार

0
Shares

लगातार पाँच दिन बढेपछि साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । पाँच दिनमा १०४ अंकको वृद्धिपछि छैटौं दिनमा नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा कायम भएको छ । लगातार पाँच कारोबार दिनदेखि बढेको सेयर बजारमा नाफा बुक गर्न लगानीकर्ता सक्रिय हुँदा सोमबार नेप्सेमा करेक्सन आएको हाे ।

बजारमा करेक्शन आएसँगै आज कारोबार रकम समेत १ अर्ब ४३ करोड रुपैयाँले घटेको छ । सोमबार दिनभरमा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँको धितोपत्र किनबेच भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर ५९ हजार ९७४ पटक किनबेच भएको हो । अघिल्लो दिन आइतबार ६ अर्ब २९ लाख रुपैयाँको सेयर करोबार भएको थियो । आज कारोबारमा आएका १३० कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ ओटा कम्पनीको मूल्य घटेको छ ।२१ ओटाको स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ७२४ दरमा २८ करोड ७० लाख ८० हजार रुपैयाँको ३ लाख ९० हजार २०५ कित्ता सेयर कारोबार भएको छ । यस्तै जानकी फाइनान्सको ६७१.९० रुपैयाँ दरमा १५ करोड ५० लाख रुपैयाँ, सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १०७५ दरमा ९ करोड ६३ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ९ करोड ४ लाख रुपेयाँ र नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको ७ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

समाज लघुवित्तका सेयरधनीले आज सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको प्रतिकित्ता ९.६८ प्रतिशतले मूल्य बढेर ३४०० रुपैयाँ पुगेको छ । यस्तै ११% एनआइसी एशिया बैंक डिबेञ्चरको मूल्य ६.०१ प्रतिशत, १०% सानिमा बैंक डिबेञ्चरको मूल्य ५.७० प्रतिशत, सिन्धु विकास बैंकको ५.१६ प्रतिशत र दोर्दीखोला जलविद्युतका लगानीकर्ताले ५.०३ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड,फरवार्ड लघुवित्त र तेह्रथुम पावरका लगानीकर्ताले पनि ४ प्रतिशतभन्दा धेरैले मुनाफा आर्जन गरेका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । कम्पनीको प्रतिकित्ता मूल्य ८ प्रतिशतले घटेर ६०६ रुपैयाँमा झरेको छ । यस्तै आँखुखोला जलविद्युतको ४.२७ प्रतिशत, १०% लक्ष्मी बैंक डिबेञ्चर २०८६ को ३.९५ प्रतिशत, १०% सिटिजन बैंक डिबेञ्चर २०९० को ३.९१ र स्वाभिमान लघुवित्तको सेयरको भाउ ३.९० प्रतिशतले घटेको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३३ खर्ब ८८ अर्ब ६२ करोड ९ लाख रुपैयाँ समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।