बाढी पहिरोमा परी ७८ जनाको मृत्यु, पाँच बेपत्ता, ९० घाइते, ४१ पुल बगायो, १० करोडभन्दा बढीको क्षति


अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ९० जना घाइते र पाँच जना बेपत्ता भएका छन् ।

बाढीपहिरोका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।

बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार सात सय रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।